सबै दलका महिलाहरुको प्रेरणा कि स्रोत -यवति कार्की

957

नेपाली राजनीतिमा हाल सम्म पनि थोरैमात्र महिला राजनीतिक कार्यकर्ताको रुपमा सक्रिय रहँदै आएका छन् । महिला भनेपछि घरभित्रको काम गर्ने र बाहिर काम गर्न जानु एक अपराधका रुपमा लिने नेपाली समाजको विभिन्न लांछना एवं गाली गलौचको सामना गर्दै भक्तपुर जस्तो स्थानमा महिलाहरु माझ ठुलो योगदान दिने महिलाका रुपमा खडा हुनुहुन्छ सुश्री यवति कार्की । २०१८ सालमा भक्तपुरको छालिङमा जन्मनुभएकी कार्कीले २०४३ सालको निर्वाचनमा छालिङ गाविस वडा नम्वर २ मा वडा अध्यक्षका रुपमा आफुलाई निर्वाचित गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । उक्त समयमा महिला राजनीतिमा आउनु नै कठिन समयमा भक्तपुरमा नै पहिलो महिला वडा अध्यक्षका रुपमा आफुलाई निर्वाचित गराउँदै उहाँले सुरु गर्नु भएको राजनीतिक यात्रा २०४६ सालको परिर्वतन पश्चात पनि निरन्तरता नै पायो । २०४६ साल पश्चात राप्रपामा नै सक्रिय रहनु भएकी कार्की २०४७ सालको स्थानिय निकायको निर्वाचनमा छालिङ वडा नम्वर २ वाट नै वडा अध्यक्ष उठ्नु भएको थियो सफलता भने उहाँलाई २०५४ सालको निर्वाचनमा उक्त वडा मा नै महिला सदस्यमा हात परेको थियो । उहाँ २०५६ सालमा भएको संसदिय निर्वाचनमा राप्रपा बाट नेपाल मजदुर किसान पार्टीको प्रतिद्दन्दीका रुपमा रहनुभएको थियो । यस्तै २०६४ र ७० मा भएको संविधान सभा निर्वाचनमा उहाँ राप्रपा नेपालको तर्फवाट समानुपातिक उम्मेदवार रहनु भएको थियो । यस्तै हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा राप्रपाका तर्फवाट उप मेयरमा चाँगुनारायणवाट उम्मेदवारी दिनु भएकी कार्की हाल राप्रपा को केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पाटी महिला संगठनकी केन्द्रिय उपाध्यक्ष रहनु भएकी उहाँ प्रतिनिधि सभा तर्फवाट समानुपातिक उम्मेदवार रहनु भएको छ ।

उहाँ सँग गरिएको छोटो कुराकानी यस्तो रहेको छ ।
हाल तपाईको दिन चर्या कस्तो रहेको छ ?
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मुखमा नै आएको छ । उक्त निर्वाचनमा नै ब्यस्त छु । जनताको घर दैलो जाँदै राप्रपाको विचार र अवको आवश्यकता राप्रपा नै किन त भन्ने विषयमा जनतालाई सम्झाउने कार्यमा तल्लिन रहेको छु ।

जनताका घर दैलोमा जाँदा उनीहरुले सोधलान त तपाईहरुलाई भोट दिने आधार के त ?
सोध्छन् नी । हामीलाई भोट किन त भन्दा हामी सनातन हिन्दु धर्मको रक्षा साथ साथै अन्य धर्मालम्विको पनि रक्षा हुनु पर्दछ भन्ने नाराका साथामा हिडेका छौं । हाम्रो देश हिन्दु धर्मको लामो ईतिहाँस बोकेको देश हो जसको रक्षाको निमित्त पनि सनातन हिन्दु धर्मको रक्षा सार्थै धर्म निरिपेक्षता हटाउनु पर्दछ भन्ने एजेण्डा हामी बोकेर हिडेका छै हामीले यसै आधार साथ साथै हाम्रो मौलिकता परम्परा संस्कृतिको रक्षाको लागि केवल राप्रपा मात्र रहेका छ ।

लामो समय देखि राजनीतिमा हुनु हुन्छ आगामी दिनमा निर्वाचित भएपछि के गर्ने ऐजेण्डा लिनु भएको छ ?
म आफै पनि लामो समय देखि महिला भएर पनि राजनीतिमा रहेको छु तैपनि हाल सम्म पनि महिलाको पहुँच राजनीतिमा केवल कोटा पूञ्याउने नाममा मात्र भएको छ । मेरो लक्ष्य भनेको नै नारीको उत्थानको लागि कार्य गर्ने हो , चुलो चौकामा सिमित रहेका नारीहरुलाई अव सत्ता र समृद्दिको मार्गमा अगाडी बढाउने नै मेरो प्रमुख लक्ष्य हो । म निर्वाचित भएपछि यसैका लागि कार्य गर्ने छु । आधा आकास ढाक्ने जनशक्तिका भरमा निर्वाचित भएर उनैलाई अपहेलना गर्नेहरु प्रति कसरी आफ्नो हक कायम गर्ने भन्ने विषयमा नै वकालत गर्ने छु ।

भक्तपुरमा पहिलो वडा अध्यक्षका रुपमा तपाँई हुनुहुन्छ कस्तो रहयो अनुभव सुनाउनु न ?
२०४३ सालको निर्वाचनमा म वडा अध्यक्ष भएँ । म आफै पनि अन्योलमा थिएँ अव के गर्ने भन्नेमा । वडा अध्यक्ष त भईयो तर सवै पुरुष मात्र एक मन त आत्म हत्या नै गरौं जस्तो पनि भयो डरले अव के गर्ने भनेर । सपथका दिन त अझ म एक्ली महिला खाजा खाँदा पनि आलु चिउरा नचपाई कन निल्एँ आफैमा एक दम अफ्ठ्यारो महसुस भएर । तै पनि मैले हरेस भने खाईन अन्य वडा अध्यक्षले भन्दा फरक किसिमले मैले आफ्नो कार्य अगाडी वडाई नै रहे । २०४५ सालमा भुकम्प गयो । वडा पुर्ण रुपमा धोस्त भयो राहतको लागि नागरिकता चाहिने नै भयो । कति सिफारिस दिनु वडा कार्यलय भन्ने थिएन जनतालाई सेवा दिनु पर्छ भनेर वडामा नै डोर लगेर आफै त्यही बसेर सिफारिस दिदै नागरिकता बनाउँदै गरेँ । जे होस उक्त कार्यकाल सफल नै भयो ।

संघर्ष गर्दै त्यही समयमा नै राजनीति चाँहि गर्नु भयो तर घर जम चाँही किन गर्नु भएन नी ?
यसको पनि आफ्नै कथा छ । म ४ वर्षको हुँदा बुवाले हामीलाई छोड्नु भयो अभावको जिन्दगी थियो । आमा र मामाघरको भरमा हामी हुर्कियौं । अनी मेरो चाहना नै विवाह गर्ने घर जम गर्नेमा भन्दा पनि महिलाको लागि नै केहि गर्नु पर्दछ भन्नेमा नै रहयो । ४३ सालमा म वडा अध्यक्ष नै भएँ त्यो वेलामा राजनीति गर्ने महिलालाई विभिन्न शब्दमा गाली गर्ने र हेर्ने दृष्टिकोण पनि अलग थियो । यसैले मैलै विवाहको विषयमा कहिले पनि सोचिन । राजनीति नै मेरो जिवन सँगिनी हो भनी हिडि नै रहेँ अवका दिन पनि मेरो महिला उत्थान र महिलाको पहुँचका लागि रहने छ ।

अहिले के गरि रहनु भएको छ महिलाको लागि आफुले ?
सानो विद्यालय सञ्चालन गरि रहेको छु भक्तपुरमा नै । पढन नसक्ने महिलाहरुलाई निशूल्क पढाउने कार्य गर्न मलाई उक्त स्थान बाट सहज भएको छ । पढाउन नसक्नेका बालवालिका लाई पढाउने कार्य गरि रहेको छु । यसरी नै महिलाको लागि कार्य गरि रहेको छु । महिला उत्थानका लागि पनि त पहिलो प्राथमिकता भनेको शिक्षा नै हो स्वास्थ्य नै हो त्यसैका लागि काम गरि रहेको छु । महिलाहरुलाई संगठित गर्ने समुहमा बस्न सिकाउने विभिन्न स्थानको भ्रमण एवं अवलोकनमा लैजाने आधुनिक कृषि प्रणलीमा खेतीका लागि उत्साहित गर्ने आदि काममा नै बढि समय ब्यतित गरि रहेको छु ।

अन्तमा के भन्न चाहनु हुन्छ मतदाता एवं दिदी बहिनीहरुमा ।
सनातन धर्मको रक्षाका लागि गाई चिन्हमा मतदान गर्न आवहान गदै आफ्नो पहिचानको रक्षाको लागि आफै लागि परौ भन्न चाहन्छु ।