काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ दलका ८५ जनाले नाम फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ ७ः३० बजेसम्म १७ राजनीतिक दलबाट ८५ जनाले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनका लागि निवेदन दिएका छन्। निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले नाम फिर्ता लिने क्रम अझै जारी रहेको जानकारी दिनुभयो।
उहाँका अनुसार जनमत पार्टी, नेकपा (एमाले), जसपा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलका उम्मेदवारहरूले बन्दसूचीबाट नाम फिर्ता लिएका हुन्।
आयोगका अनुसार सबैभन्दा धेरै जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। “फिर्ता लिने क्रम जारी नै छ। केही घण्टापछि आयोगले विज्ञप्ति जारी गरी विस्तृत विवरण सार्वजनिक गर्नेछ,” सहायक प्रवक्ता पुनले बताउनुभयो।
समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए। आयोगले पुस १३ र १४ गते बन्दसूची पेस गर्ने समय तोकेको थियो भने सोमबार बन्दसूचीबाट नाम फिर्ता लिने अन्तिम दिन तोकिएको थियो।







































