सम्झनामा जयराम बासुकला

421

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता तथा तात्कालीन ताथली गाविसका अध्यक्ष जयराम बासुकलाको स्मृतिमा गठित जयराम स्मृति अक्षयकोष समितिको आयोजनामा शनिबार ते¥हौं स्मृति सभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले अक्षयकोष समितिद्वारा प्रकाशित ‘सम्झनामा का.जयराम’ स्मारिका विमोचन गर्नुभयो । साथै अक्षयकोषले हरेक वर्ष एसईईमा उत्कृष्ट ग्रेड ल्याएका चाँगुनारायण नपाका एक छात्र र एक छात्रालाई सम्मान पनि गरियो ।
सभामा बोल्दै सांसद सुवालले जयराम बासुकला समाजको उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो ।
आफ्नो घर परिवारभन्दा समाज र जनताको चिन्ता र चासो लिने बासुकलाको व्यक्तित्वको स्मरण गर्दै उहाँले किसानले राम्रो बीउको जगेर्ना गरेजस्तै जयराम बासुकलाको व्यक्तित्व र गुण नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
‘उहाँ जनताको हितलाई नै आफ्नो हितको रूपमा लिनुहुन्थ्यो ।’, बासुकलाबारे उहाँले भन्नुभयो ।
समसामयिक राजनीति परिस्थितिबारे सहभागीलाई जानकारी दिंदै सांसद सुवालले सत्तासीन दलले दुईतिहाईको नाममा देशमा तानाशाही चलाउन नहुने बताउनुभयो ।
सांसद सुवालले प्रतिनिधिसभामा प्रस्तुत नागरिकतासम्बन्धी विधेयकमा जन्मको आधारमा नागरिकता दिने बन्दोबस्तले देशको सार्वभौमिकता कमजोर बनाउने धारणा राख्नुभयो ।
भारतकै एक जना प्राध्यापकको भनाइ उद्र्धृत गर्दैै चालीस लाखभन्दा बढी भारतीय नागरिकले नेपाली नागरिकता लिइसकेको अवस्थामा प्रस्तुत विधेयकले अझ धेरै विदेशीलाई नेपालको नागरिकता दिने बाटो खुलेको उहाँको भनाइ थियो ।
उहाँले मन्त्री, सांसद र कर्मचारीले सरकारी प्रतिनिधिको रूपमा विदेश जाँदा मात्र कूटनीतिक राहदानी प्रयोग गर्ने र अरु अवस्थामा सामान्य राहदानी प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसो गर्दा कूटनीतिक राहदानीको दुरुपयोग रोकिने उहाँको भनाइ थियो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले जयराम बासुकलाले लेनिनवादी नीतिअनुसार पञ्चायती निर्वाचनको उपयोग गरी व्यापक जनताको हितमा काम गर्नुभएको धारणा राख्नुभयो  ।
नेमकिपा चाँगुनारायण नगर समितिका केशवप्रसाद तिमिल्सिनाले जयराम बासुकला आफ्नो राजनीतिक गुरु भएको स्मरण गर्दै राजनीति इमानदारी र सिद्धान्तमा आधारित हुनुपर्ने शिक्षा उहाँबाट पाएको बताउनुभयो ।
चाँगुनारायण ९ वडाका वडाध्यक्ष गणेश त्यातले जयराम बासुकलाकै बाटो अनुसरण गर्दै आफू ताथलीको जनप्रतिनिधिको रूपमा जनताको निःस्वार्थ सेवामा प्रयासरत रहेको धारणा राख्नुभयो ।
जयराम स्मृति अक्षकोष समितिका अध्यक्ष रामचन्द्र बासीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा चाँगुनारायण नपा ९ का अध्यक्ष नारायणभक्त न्हेम्हाफूकी, अक्षयकोष समितिका घनश्याम खड्का, केशरबहादुर खड्का, चन्द्रबहादुर थुयाजू, तुल्सीनारायण लाखेमरुलगायतले बोल्नुभएको थियो ।