सर्लाहीको जंगलमा वन चौकीदारको विभत्स हत्या, टाउको अझै फेला परेन

0

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको छुट्टिएको अवस्थामा शव फेला परेको छ।

ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा परियोजनाअन्तर्गतको जंगलभित्र टाउको विनाको अवस्थामा फेला परेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए।

स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर जंगलभित्र रूख काटिएको आवाज सुनिएपछि केही मानिस त्यतैतर्फ गएका थिए। तर दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र उनको मोबाइल फोन ‘स्वीच अफ’ भएपछि परिवारका सदस्य र स्थानीयले खोजी सुरु गरेका थिए।

खोजतलासकै क्रममा जंगलभित्र महतोको टाउको अलग गरिएको अवस्थामा शव फेला परेको हो। डीएसपी राईका अनुसार घटनास्थलमै शवको मुचुल्का उठाउने कार्य भइरहेको छ भने टाउको अझै फेला नपरेकाले खोजी कार्य जारी छ।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै साँझ धनुषाको लालगढबाट तालिम प्राप्त खोजी कुकुर झिकाई अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरीले हत्या हो वा अन्य कारण भन्ने विषयमा सबै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।