सर्वोच्च अदालतमा आगजनी, दनदनी बलिरहेको छ मुद्दाका महत्वपूर्ण कागजात

14

काठमाडौं । जेनजी युवाहरूको समूहले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । अपरान्हतिर सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे । त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए ।

‘सर्वोच्च अदालतको भवन दनदनी बलिरहेको छ, हेर्न जान सक्ने अवस्थै छैन’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अनलाइनखबरसँग भने, ‘तल्लो तलाबाट शुरु भएको आगो अरूतिर पनि फैलिएको छ । सबैतिर दनदनी बलिरहेको छ । हामीले रोक्न चाहेन पनि केही गर्न नसक्ने अवस्था बन्यो ।’

सर्वोच्च अदालतमा देशभरका मुद्दाका साथै सर्वोच्च अदालतकै मुद्दाका महत्वपूर्ण कागजात र प्रमाणहरू छन् । आगलानीबाट तिनमा क्षति पुगेको पनि कहाँ कति नोक्सानी भयो भन्ने हेर्न नसकिने अवस्था रहेको कर्मचारीहरु बताउँछन् ।

प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको परिसरसँगै जोडिएको नेपाल बार एसोसिएसन अनि सर्वोच्च अदालत बार एसोसिएसनमाथि पनि आक्रमण गरेका छन् । सर्वोच्च अदालतको पल्लोपट्टि रहेको महान्यायाधीवक्ताको कार्यालयमा पनि आगजनी भएको छ ।

यी निकाय बाहेक माईतीघर मण्डलास्थित स्वास्थ्य मन्त्रालय परिसरमा जोडिएका दुई सरकारी वकिलको कार्यालय पनि आक्रमणबाट क्षतिग्रस्त भएको छ । विशेष सरकारी वकिलको कार्यालय र काठमाडौं जिल्ला अदालत पनि आक्रमणबाट क्षतिग्रस्त  भएको छ ।