साताकाे पहिलाे दिन सेयर बजार : कारोबार रकम अर्ब नाघ्यो 

317

नयाँ वर्ष लागेसँगै सेयर बजारमा निरन्तर वृद्धि देखिन थालेको छ । दोस्रो साताको पहिलो दिन कारोबार रकम, सूचक, सेयर कित्ता र कारोबार संख्या अघिल्लो दिनभन्दा सामान्य हिसाबले बढेको छ ।

तेस्रो त्रैमासिक वित्तीय प्रकाशन हुने क्रम पनि बढेको छ । सिटिजन्स र माछापुच्छ्रे बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सिटिजन्सको खुद नाफा सामान्य बढेको देखिए पनि माछापुच्छ्रेको भने झन्डै ५० प्रतिशतले खुद नाफा बढेको छ ।

वैशाख लागेपछि सेयर बजारमा वृद्धि आउनु स्वाभाविक पनि मानिन्छ । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहने र आगामी वर्षको लाभांश अनुमान गर्न सकिने बेला भएको हुँदा सोही अनुमानको आधारमा बजारमा किनबेच हुनुलाई सामान्य मान्नुपर्छ ।

आज पनि अत्यधिक सेयर कारोबार हुने कम्पनीमा वाणिज्य बैंक नै छन् । यसले लगानीकर्ताको चाप वाणिज्य बैंक समूहमा छ भन्ने देखाएको छ ।

आज कारोबारमा आएका १० समूहमध्ये २ वटा समूहको कारोबार मापन गर्ने सूचक घटेको छ भने आठवटा समूहको सूचक बढेको छ । सूचीकृत कम्पनीलाई ११ वटा समूहमा बाँडिएको छ ।

आज कारोबार मापन गर्ने सूचक ३१ दशमलव ८९ अंकले बढेको छ ।