सात वर्ष लगाएर तलेजु जीर्णोद्धार

361

भक्तपुर : भक्तपुर दरबार क्षेत्रस्थित तलेजु भवानी रहने मूलचोकको चौघेरा जीर्णोद्धार गरिएको छ। पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले आधा-आधा लागतमा सात वर्ष लगाएर तलेजु आगमको जीर्णोद्धार गरेका हुन्।

यसअघि मल्ल राजा भूपतीन्द्र मल्लले नेपाल संवत् ८२९ मा तलेजुको जीर्णोद्धारसँगै विस्तार गरेका थिए। उनले जीर्णोद्धार गरेको ठीक तीन सय चार वर्षपछि तलेजु आगमको मूल चोकको चौघेरा ०६७ साल वैशाख ६ गतेदेखि जीर्णोद्धार सुरु गरिएको थियो।

चार करोड सात लाख ७३ हजार चार सय २२ रुपैयाँ लागतमा मूलचोकको पश्चिम कुमारी चोकसहित मूल चोकका चारैदिशाका लङको जीर्णोद्धार गरिएको हो।

भक्तपुर नगरपालिका सम्पदा शाखामा इन्जिनियर सूर्यभक्त खर्बुजाले भक्तपुर नपा र पुरातत्वको आधा-आधा गरी कुल एक करोड १९ लाख २८ हजार एक सय २६ रुपैयाँबाट तलेजु मूलचोकको दक्षिण लङको जीर्णोद्धार गरिएको बताए।उक्त लङमा तलेजु भवानी विराजमान हुन्छिन्। जीर्णोद्धारका लागि तलेजु भवानीलाई पूर्वीलङमा सारिएको थियो।

उक्त लङको सुनको मोलम्बा लगाइएको पित्तलको छानामाथि ११ वटा ढलौटका गजुर छन्। एघार गजुरलाई नवदुर्गा गण र भैरव तथा गणेशको प्रतीक मानिने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन्। त्यस्तै, मूल चोकको पश्चिम लङमा पनि सुनको मोलम्बा लगाइएको पित्तलको छाना र छानामाथि ११ वटै ढलौटका गजुर छन्। उक्त लङलाई कुमारी घर एवं दसैं घर भनिन्छ। यही घरमा तलेजुको जमरा राख्नुका साथै एकान्तकुमारीसहित ११ वटा गणकुमारीलाई विराजमान गराइन्छ।

कुमारी चोक प्रवेश गर्ने पश्चिमी लङ जीर्णोद्धार गर्न एक करोड ३९ लाख ५२ हजार आठ रुपैयाँको लगत तयार गरिएको छ। कुमारी चोक भने २६ लाख १५ हजार तीन सय ४७ रुपैयाँ लगतमा जीर्णोद्धार गरिएको थियो।

२०७२ वैशाख १२ को भूकम्पपछि जीर्णोद्धार कार्य दुई वर्ष रोकिएको थियो। ‘भूकम्पले रोकिएको पूर्वी लङको जीर्णोद्धार दुई वर्षपछि मात्रै सुरु गर्न सक्यौं’, इन्जिनियर खर्बुजा भन्छन्, ‘दक्ष कालीगढ तथा ठूला साइजका काठ मुस्किलले उपलब्ध हुँदा जीर्णोद्धार प्रभावित भयो।’

तलेजुको अन्तिम पूर्वीलङ चालु आर्थिक वर्षभित्रै सकिने गरी जीर्णोद्धार भइरहेको बताए। ‘उक्त लङको एक करोड २२ लाख ७७ हजार नौ सय ४१ रुपैयाँको इस्टिमेटअनुसार जीर्णोद्धार भइरहेको छ’, उनले भने।

तलेजु मूल चोकको चौघेरा जीर्णोद्धारका क्रममा जीर्ण भएका तथा किराले खाएर नष्ट हुन लागेका थाम, दलिन, टुँडाललगायत बुट्टेदार काठको ठाउँमा नयाँ मौलिक बुट्टा कुँदाएर प्रतिस्थापन गरिएको छ। सबै वस्तु तथा सामग्री पहिलेकै स्थितिमा प्रतिस्थापन गरिएको पुरातत्व विभागको भक्तपुरस्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए।

जीर्णोद्धार भइरहेको क्षेत्रभित्र अनुमतिविना कसैलाई प्रवेश गर्न दिएको छैन भने कर्मचारी तथा मजदुरलाई समेत परिचयपत्रको व्यवस्था गरिएको छ। तत्कालीन सिम्रौनगढका राजा हरिसिंह देवले नेपाल संवत्मा आफ्नो कुल देवता तलेजुसहित भक्तपुर शरणमा आएका थिए। दिल्लीका मोहम्मद गयासुद्दिनबाट पराजित भएपछि उनी आफ्नो कुलदेवता तलेजु भवानीसाथ ससुराली भक्तपुरमा शरण लिन आएका हुन्। सोही वर्ष तलेजु स्थापना गरी दैनिक पूजाआजा गरेको गोपाल वंशावलीमा उल्लेख छ।

भूपतीन्द्र मल्लले तलेजु आगमको क्षेत्र विस्तार गर्नुका साथै जीर्णोद्धार गरेको करिब २६ वर्षपहिले उनका पिता जितामित्र मल्लले पनि तलेजु मन्दिर मर्मत गरेको प्रमाण फेला परेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए।

१८९० र १९९० सालको महाभूकम्पमा समेत केही नभएको उक्त तलेजु मन्दिरको तत्कालीन राजा महेन्द्रले ०२५/२६ र ०४३ सालमा बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणका क्रममा भक्तपुर आउनुअघि तत्कालीन राजा वीरेन्द्रले छाना मर्मत गराएका थिए।