सादा पोसाकका प्रहरीले माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

294

ओखलढुंगाका  उज्ज्वन कुमार श्रेष्ठको  हत्याको अभियोगमा सर्वोच्चबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

उनी  ललितपुरको सातदोबाटोबाट आइतबार मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको  ढुंगेलका एक आफन्तले पुष्टि गरे । ‘चार जना सादा पोशाकका प्रहरी मोटरसाइकलमा चढेर आएका थिए । उनीहरुले मोटरसाइकलमा राखेर नै उनलाई लगे,’ आफन्तले रातोपाटीसँग भने ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने यसविषयमा आफू बुझ्ने क्रममा रहेको बताए ।

शुरुमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख पुष्कर कार्कीसँग यो विषयमा बुझ्दा उनले यसबारेमा आफूलाई जानकारी नभएको बताए । आफन्तले ढुंगेल पक्राउ परेको पुष्टि गरेपछि उनीसँग पुनः सम्पर्क गर्न खोज्दा अहिले भने उनले मोबाइल स्वीचअफ गरेर बसेका छन् ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो।

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।