साफको ट्रफी सार्वजनिक, उद्घाटनमा नेपाल र भुटान भिड्दै

193

माेरङ / विराटनगरमा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी टिमहरु नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सका कप्तानहरुले संयुक्त रुपमा उचालेर ट्रफी सार्वजनिक गरे । विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा आयोजित प्रि म्याच प्रेस कन्फरेन्समा ट्रफी सार्वजनिक गरिएको हो । प्रेस कन्फरेन्समा सबै देशका प्रशिक्षक र टिमका कप्तानहरुले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाइएको बताए । महिला साफमा अहिलेसम्मकै शक्तिसाली मानिएको भारतले पनि उपाधि रक्षा गर्ने हिवासमा आफ्नो तयारी रहेको जनाएको छ ।

प्रतियोगिताको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गर्ने तय भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले प्रतियोगिता आयोजना गर्न विराटनगर तयार भएको जानकारी दिए । उनले प्रतियोगितामा भाग लिने छ वटै मुलुकका खेलाडी टिम विराटनगरमा आइसकेको बताए । यसको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ रहेको जनाएको छ ।

एन्फाले दर्शकको सुविधाका लागि पानीको बोतल बाहेक हेल्मेट, छाता, डन्डालगायत अन्य केही वस्तु मैदान भित्र लैजान निषेध गरेको छ । प्रतियोगिताको लिग चरणका खेलका लागि एन्फाले ३ सय र २ सय दरका टिकट बिक्री गर्नेछ । विराटनगरमा पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनका अनुसार सडक, प्रतियोगिता आयोजना स्थल, खेलाडीले अभ्यास गर्ने स्थान, खेलाडी आवतजावत गर्ने रुट, सार्वजनिक स्थल, खेलाडी तथा अफिसियल बस्ने होटलहरुमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।

निरु थापाको कप्तानीमा रहेको नेपाली महिला टोलीले मोफसलको घरेलु मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । पछिल्लो समय नेपाली महिला टोलीले सफलता हात पार्ने क्रम बढ्दै गएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये शक्तिशाली राष्ट्र छिमेकी मुलुक भारतलाई उसैको भूमिमा धेरै समयपछि पराजित गर्दा नेपाली टोलीको मनोबलको मनोवल उच्च बनेको छ । नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन ।

पछिल्लो ५ खेलमा बंगलादेशसँग ४ खेलमा जित र एकमा बराबरीको अवस्था रहेको छ भने भुटानविरुद्ध पछिल्लो ५ खेलमा जितको मीठो अनुभव नेपाली टोलीसँग रहेको र यस प्रतियोगिताका लागि उच्च तयारी गरिएको नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए । उनले समूह चरण पार गर्नका लागि रणनीति तयार पारिएको र भारतलाई बलियो टिमका रुपमा नेपालले लिएको जानकारी दिए ।

भुटानका प्रशिक्षक र टिम कप्तानले पनि आफूसँग उद्घाटनामा भिड्ने नेपाली टोली मजवुत रहेको बताएका छन् । ‘हामीसँग समूह चरणमा भिड्ने नेपाली टोली मजवुत छ,’ उनीहरुले भने, ‘त्यही अनुसारको तयारी गरेर आएका छौं ।’ ९ वर्षअघि बाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ भने चिरप्रतिद्धन्दी भारतले चारैपटक उपाधि हात पारेको छ । बंगलादेश यस प्रतियोगिता अन्तर्गत गत संस्करणको उपविजेता टिम हो । पाकिस्तानले यस पटक प्रतियोगितामा सहभागिता नजाउने भएको छ । समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’ मा श्रीलंका, मालदिभ्स र भारत छन् । च्याम्पियनसीप आगामी चैत ८ गतेसम्म सञ्चालन हुने छ ।

Purbeli TV

Source link