‘साहित्यमा समर्पित एक दशक’ नामक पुस्तक विमोचन

468

भक्तपुर:- नेपाल स्रष्टा समाजले संस्था स्थापनाको दशौँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘साहित्यमा समर्पित एक दशक’ नामक पुस्तकको विमोचन गरिएको छ ।

भक्तपुरको घ्याम्पेडाँडामा आयोजित साहित्यक वनभोज कार्यक्रममा साहित्यक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्माले ‘साहित्यमा समर्पित एक दशक’ नामक पुस्तकको विमोचन गर्नुभएको हो ।

नेपाल स्रष्टा समाजले साहित्यक मनहरूलाई एकैथलोमा भेला गराएर साहित्य सिर्जना र सम्बन्ध विस्तारमा योगदान गरिरहेको बताउँदै प्रमुख अतिथि शर्माले भन्नुभयो ः “अहिलेको व्यस्त दिनचर्या रहेको समयमा भेटघाटको वातावरण सिर्जना गर्नु अति प्रशंसनीय र प्रेरणादायी कार्य हो ।”

समाजका संस्थापक अध्यक्ष, वरिष्ठ कवि शैलेन्द्र साकारले दश वर्ष पहिले कुनैपनि राजनीतिक पार्टीको भातृ संगठन नबनी साहित्यको विकास र विस्तार गर्ने उद्देश्य लिएर स्थापना भएको संस्थाले आफ्नो उद्देश्यलाई अविछिन्न राख्दै स्वतन्त्र लेखकहरूको संस्थाको रूपमा उभ्याइरहन सक्नु संस्थाको ठूलो उपलव्धी रहेको बताउनुभयो ।

नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले फरक कार्यक्रमहरू आयोजना गर्ने प्रेरणा भनेकै स्रष्टाहरू भएकाले भिन्न प्रकारले सिर्जनाको रसास्वादन गर्न आउनुभएका सबै आमन्त्रितहरूलाई धन्यवाद दिनुभयो ।

यस्तै आफ्ना उपलव्धीहरूको मुल्याङ्कन गर्न र समाजको इतिहास नमेटियोस् भनेर ऐतिहासिक दस्तावेज तयार गरिएको उहाँले बताउनुभयो ।

नेपाल स्रष्टा समाजका उपाध्यक्ष विधान आचार्यले संस्थाले दश वर्षमा संख्यात्मक भन्दा पनि गुणात्मक विकास गरेको बताउँदै देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूलाई समाजको सदस्यको रूपमा पाउनु पनि यसको उपलव्धी रहेको बताउनुभयो ।

यस्तै प्रत्येक वर्ष चार÷पाँच वटा पुरस्कारले स्रष्टालाई सम्मान गर्न पाउनु, राष्ट्रिय सञ्चार माध्यममा राम्रो स्थान पाउनु पनि संस्थाको उपलव्धी हो भन्नुभयो ।

वरिष्ठ सञ्चारकर्मी, साहित्यकार ध्रुव मधिकर्मीले संस्थाको सदस्य नरहे पनि यस समाजसँग आत्मिय सम्बन्ध रहेको बताउँदै आउँदा कार्यक्रमहरूमा स्थलमै साहित्य सिर्जना गर्ने वातावरण मिलाउन सके अझ यस्ता कार्यक्रमको गरीमा बढ्ने बिचार व्यक्त गर्नुभयो ।

समाजका महासचिव चेतनाथ कनेल ‘हरित’ले स्वागत मन्तव्य राख्दै समाजले आन्तरिक पर्यटनको प्रवद्र्धन र साहित्यको विकास र विस्तारका लागि वनभोजको आयोजना गरिएको बताउनुभयो ।

उहाँले समाजका गतिविधिहरू आन्तरिक भूगोलमा मात्र सिमित नराखी अन्तर्रा्ष्ट्रिय जगतमा समेत नेपाली साहित्यको प्रवेश र विस्तारका लागि समाजले पहल गरिरहेको औल्याउनुभयो ।

संस्थाको अभिलेख पद्धति अति व्यवस्थित र चुस्त दुरूस्त रहेकोले छोटो समयमा नै पुस्तकका रूपमा संस्थाका सम्पूर्ण गतिविधिहरू र उपलव्धीहरूलाई समेट्न सकेको बताउँदै साहित्यमा समर्पित एक दशक पुस्तकका संयोजक तथा सम्पादक गोकुल अधिकारीले भन्नुभयो  साहित्यमा समर्पित संस्थाका कार्यले अन्य संस्थालाई पनि प्रोत्साहन मिल्ने छ ।

साहित्यमा समर्पित एक दशकभित्र नेपाल स्रष्टा समाजका हालसम्मका कार्यसमितिहरू, साधारण सभाहरू, समाजको विधान, विगत दश वर्ष्भित्र समाजले गरेका साहित्यक सभा र अन्तरक्रियाहरू, साहित्यिक भ्रमण, विभिन्न पुरस्कारको स्थापना र व्यवस्थापन, आर्थिक स्रोतको दीगो व्यवस्थापन, भावी सोच र कार्यक्रमहरू, सदस्यता विस्तारलगायतका विषयहरू समेटिएका छन् ।

भक्तपुरको घ्याम्पेडाँडामा आयोजित साहित्यक वनभोज कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यक पत्रकार नगेन्द्रराज शर्मा, वरिष्ठ कवि शैलेन्द्र साकार, नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, गोरखापत्रका सम्पादक जयदेव भट्टराई, मधुपर्कका नायव कार्यकारी सम्पादक तुलसीहरि कोइराला, सञ्चारकर्मी तथा साहित्यकार ध्रुव मधिकर्मी, रा.स.स.का वरिष्ठ पत्रकार कृष्ण अधिकारी, समाजका महासचिव चेतनाथ कनेल ‘हरित’, कोषाध्यक्ष पुष्पा खनाल, कार्यसमिति सदस्य प्रा.डा. गोविन्दमानसिंह कार्की, गोकुल अधिकारी, गोपीकृष्ण ढुङ्गाना, जानु धिताल, नवराज तिमल्सिना ‘अवदोषी’ तथा आजीवन विशिष्ट सदस्यहरू गंगा सुवेदी, जिवनाथ पोखरेल, देवा अधिकारी, रेखा कँडेल, तिल प्रसाद न्यौपाने, रश्मी रिमाल आदिले आ–आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।