सिरिन्जबाट एचआइभि सारिदिने पाकेटमारको धम्की

798

मोवाइल, पर्स र लागुऔषधसहित पाकेटमार पक्राउ
काठमाडौं।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले बुधबार अपरान्ह आइफोन सहित विभिन्न कम्पनीको नयाँ र पुरानो गरि ६ मोवाइल सेट, एउटा सिमकार्ड, ५ मेमोरी कार्ड, महिला र पुरुषको ७ वटा पर्स तथा केहीमात्रामा लागुऔषध सहित २ जना पटके पाकेटमार पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजना पाकेटमार र वरामद गरेको पाकेटमारीका सामानसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा पठाइएको प्रभाग प्रमुख, प्रहरी निरीक्षक राजु लामाले बताए ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला पालुङ नगरपालिका वडा नं. ६ घर बताउने हाल भक्तपुर जिल्ला सूर्यविनायक बस्ने ३५ वर्षे प्रकाश कार्की र रामेछाप जिल्ला ज्यामिरे गाउँपालिका वडा नं.५ घर बताउने हाल भक्तपुर जिल्ला सूर्यविनायक बस्ने १९ वर्षे बुद्धनारायण श्रेष्ठ रहेका छन् । कार्की पटकपटक पाकेटमारीमा पक्राउ परि थुनामा परिसकेका नाइके पाकेटमार भएको पनि प्रहरीले जनाएको छ ।

लठ्याउने लागु औषध सेवन गरी उनीहरु विगत लामो समयदेखि सार्वजनिक सवारी यातायातमा ब्लेडको प्रयोग गरेर पाकेटमारको साथै विभिन्न ठाउँमा चोरी गर्दै आएको प्रहरी निरीक्षक लामाले बताए ।

निरीक्षक लामाका अनुसार पाकेट मार्ने क्रममा कसैले पक्रिन खोजे ‘आफुलाई एचआइभि एड्स लागेको र सिरिन्जबाट सारिदिन्छु’ भनेर तर्साउने गरेको पक्राउ परेका प्रकाश कार्कीले बताएका थिए । कार्कीको साथबाट एकथान रगत लागेको र अर्काे एकथान प्रयोग नगरेको सुई (सिरिन्ज) पनि प्रहरीले बरामद गरेको थियो ।

बुधबार अपरान्ह साढें ३ बजे कोटेश्वरबाट जडिबुटीतर्फ जाने सडक पेटीमा शंकास्पद अवस्थामा गतिविधि गरेको देखेपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरीले उनीहरुलाई नियन्त्रण लिएर खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा प्रहरीले उनीहरुबाट विभिन्न कम्पनीको आइफोन सहित नयाँ र पुरानो गरि ६ मोवाइल सेट, एउटा सिमकार्ड, ५ मेमोरी कार्ड, महिला र पुरुषको ७ वटा पर्स, पाकेट मार्न प्रयोग गरिने ब्लेड, कागजमा पोको पारेको अवस्थामा लागु औषध डाईजेपाम फेनरगन र नोरफिन, प्रयोग नभएको सिरीन्जका साथै पाकेट मार्दा प्रयोग गरिने ९ थान मुखमा लगाउने माक्स वरामद गरेको थियो ।

यसका साथै लेडिज पर्स र त्यसभित्र संखुवासभा जिल्ला प्रशासन कार्यालयबाट जारी करुना राईको नाउँको सक्कल नागरिकता र राईको केही फोटो समेत वरामद गरेको छ । पाकेटमारका अनुसार केहीदिनअघि सार्वजनिक बसमा यात्रा गर्ने एकजना महिलाको पाकेट मारेर सो पर्स झिकेका थिए ।

पाकेटमारले पाकेटमारीको कार्यमा खटिने अरुलाई दैनिक १ हजार रुपैयाँसम्म दिने गरि अरु पैसा भने आफैं राख्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ । पटकपटक विभिन्न सवारी साधनमा पाकेट मारेर कमाई भएको रकम मदिरा सेवन, लागुऔषध सेवन तथा वेश्यावृत्तिमा खर्च गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।