सुरेश श्रेष्ठःस्ववियू सचिव, नेविसंघ अध्यक्ष हुँदै संस्कृति तथा पर्यटन मन्त्री सम्म

244

भक्तपुर । भक्तपुरका सुरेश श्रेष्ठ बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार श्रेष्ठलाई मन्त्री नियुक्त गर्नुभएको हो । मन्त्री श्रेष्ठले शुक्रवार नै सपथ लिनुका साथै मन्त्रालय पुगेर कार्यभार समेत सम्हाल्नु भएको छ ।
श्रेष्ठ नेपाली कांग्रेसको उम्मेदवार भई २०७९ को निर्वाचनमा प्रदेश सभा क्षेत्र भक्तपुर क्षेत्र नं। १ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको प्रदेश सभा सदस्य हुनुहुन्छ । लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका नेपाली कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार ४२४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार २१२ मतान्तरले पछाडि पार्नुभएको थियो ।
बुबा विष्णु श्रेष्ठ र आमा मैया श्रेष्ठको कोखबाट वि. सं. २०३७ जेठ १० गते जन्मनुभएका श्रेष्ठ विद्यालयमा अध्ययनकै क्रममा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका क्रियाशिल हुनुहुन्थ्यो । उच्च शिक्षा हासिल गर्ने क्रममा भक्तपुर बहुमुखी क्याम्पसमा अध्ययन गर्नुभएका श्रेष्ठ वि. संं २०५७ मा स्ववियु सचिवमा निर्वाचित हुनुभएको थियो ।
श्रेष्ठ २०६१ सालमा नेविसंघको भक्तपुर जिल्ला अध्यक्ष हुनुभएको थियो । श्रेष्ठले विद्यार्थीहरुको हकहित एवं संगठन बिस्तारमा वडा गाविस देखि क्याम्पस सम्म विभिन्न योगदान दिन्भएको छ । उहाँले २०६२,०६३ को जनआन्दोलनमा भक्तपुर बहुमुखी क्याम्पसबाट नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
नेपाली कांग्रेसको बाह्रौं महाधिबेशनमा जिल्ला सदस्य हुनुभएका श्रेष्ठ तेह्रौं महाधिबेशनमा महाधिबेशन प्रतिनिधि र चौधौं महाधिबेशनबाठ हाल महासमिति सदस्य हुनुहुन्छ ।
यसैबीच बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मूख्यमन्त्री ईन्द्र बहादुर बाँनियाले शुक्रवार ५ मन्त्री नियुक्त गरेसँगै बागमती सरकारले पूर्णता पाएको हो । २० साउनमा आफूसहित ८ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री बनाउँदै १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
मुख्यमन्त्री बानियाँले शुक्रवार सामाजिक विकास मन्त्रालयमा काभ्रेका कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रालयमा ललितपुरकी उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रालयमा भक्तपुरका सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा चितवनकी बिनु रायमाझी पौंडेललाई नियुक्त गनुभएको हो ।
२० साउनमा कांग्रेसबाट खानेपानी, उर्जा तथा सिचाईं मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ र जिम्मेवारी पछि तोकिने गरि धादिङका शिवराज अधिकारी विना विभागीय मन्त्री नियुक्त भएका थिए। कांग्रेसभित्र मन्त्रालय भागबण्डा हुँदा अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
यसैगरी, २० साउनमै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै ललितपुरका मधुसुदन पौंडेललाई कृषि तथा पशुपन्छी विकास, काठमाडौंका डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, रसुवाका भरत केसीलाई वन तथा वातावरण, काठमाडौंकै जयराथ थापालाई श्रम, रोजगार तथा यातायात, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।