सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन
भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाको अध्यक्षतामा शुक्रवार सम्पन्न दोस्रो नगरसभाले विभिन्न विधयेक, निर्देशिका र कार्यविधि पारित गरेको छ । नगरपालिकाको शुक्रवार सम्पन्न दोस्रो नगरसभाले स्थानीय तहको हिउँदे अधिवेशन अन्तर्गत आवश्यक ऐन, नियमावली र कार्यविधि नगरसभाबाट पारित गरेको हो । संविधानको अनुसूची ८ ले २२ वटा स्थानीय तहको एकल अधिकारका सूची उल्लेख गरेको र उक्त २२ वटा अधिकारका सूचीलाई कार्यन्वन गर्नका लागि सूर्यविनायक नगरपालिकाले आवश्यक कानुन निर्माण गरेको हो ।
यसअघि नगरपालिकाले विषयगत समितिमा सरोकारवालाहरुको परामर्श र अन्तक्रिर्याबाट उक्त कानुन निर्माण गरी नगरसभामा प्रस्ताव गरेको हो ।
नगरसभाले पारित गरेको शिक्षा नियमावली अनुसार आगामी शैक्षिक सत्रदेखि नगरभित्र भएका सबै सामुदायिक विद्यालयहरुमा प्रारम्भिक सामुदायिक बाल विकासदेखि कक्षा ३ सम्म सबै विषयहरु अङ्गेजी भाषामा पठन पाठन गराउने र शैक्षिक सत्र २०७८ सम्म क्रमिक रुपमा कक्षा १२ सम्ममा नै अङ्गेजी माध्यममा पठनपाठन गराउने नगरसभाले निर्णय गरेको नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिका ४१ वटा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७५ देखि समान शैक्षिक क्यालेण्डर निर्माण गरी सामान पाठ्यक्रम लागू गरी समय सापेक्ष गुणस्तरीय प्रतिस्पर्धी शिक्षा पाउने नागरिकको मौलिक हकलाई नगरपालिको उच्च प्राथमिकताका साथ कार्यान्वयनमा गर्न लागेको हो ।
त्यस्तै भवन निर्माण मापदण्ड, भवन इजाजत तथा घर नक्शा कार्यविधि, अनुसार राष्ट्रिय भवन निर्माण संहिता २०६० बमोजिम निर्माण हुने भनवलाई भूकम्प प्रतिरोधी, भरपर्दो, सुरक्षित निर्माणका लागि वस्ती विकास र सहरी योजना सडक खोला, खोल्छा र राजकुलो सहितको क्षेत्राधिकार मापदण्ड समेत निर्माण गरिएको छ ।
सहकारी संस्था दर्ता र नियमका लागि सहकारी विधयेक, कृषि व्यवसाय प्रबद्र्धन विधयेक, शिक्षामा सबैको पहुच पु¥याउनका लागि शिक्षा नियमावली पारित गरेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै योजना तथा कार्य सञ्चालन निर्देशिका, विज्ञापन कर निर्देशिका, व्यवसाय कर निर्देशिका, पूर्व प्राथामिक विद्यालय व्यवस्थापन निर्देशिका, पारित गरेको सूर्यविनायक नगरपालिकाले जनाएको छ । अनुदान तथा आर्थिक सहायता निर्देशिका, निर्माण व्यवसाय नियम गर्ने निर्देशिका, बजार अनुगमन निर्देेशिका, फोहोरमैला व्यवास्थापन तथा जग्गा प्लटिङ सम्बन्धि कार्यविधि पारित गरेको हो । त्यस्तै संविधान अनुसार नगरपालिकाका उपप्रमुख जुना बस्नेतको संयोजकत्वमा राजु लुबन्जार (श्रेष्ठ) र विनय महत सदस्य रहेको न्यायिक समिति निर्माण गरेको नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रस्तुत विधयेकमा सभाका सदस्यहरुले दफावार छलफल गरी विधयेक पास गरेका हुन ।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले आवश्यक कानुन निर्माण गरी कार्यान्वयन गर्न सक्ने अधिकार प्रदान गरे अनुसार नगरपालिकाले आवश्यक कानुन निर्माण गरी कार्यान्वयन गर्न लागेको हो ।







































