स्तन जोगाएर क्यान्सर उपचार सेवा सुरु

6

बाँके – अब स्तन क्यान्सरको उपचारका क्रममा स्तन काट्नैपर्ने अवस्था अधिकांशमा अन्त्य हुँदै गएको छ। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्तन जोगाएर उपचार गर्ने आधुनिक प्रविधि ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ (Breast Conserving Surgery) सुरु गरेसँगै यस्तो सुविधा राजधानीबाहिर पनि उपलब्ध भएको छ।

पहिले स्तन क्यान्सर देखिएपछि रोग भएको भागसँगै पूरा स्तन काट्ने परम्परागत विधि अपनाइन्थ्यो। तर आधुनिक प्रविधि भित्रिएपछि क्यान्सर प्रभावित भाग मात्रै हटाई स्तनको आकार जोगाइने भएकाले महिलाको शरीरको प्राकृतिक सौन्दर्य र आत्मविश्वास दुवै सुरक्षित रहने चिकित्सकहरूले बताएका छन्।

अस्पतालका ब्रेस्ट अङ्को–सर्जन डा. रूपेश रोशनका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले राजधानीबाहिर आधुनिक ब्रेस्ट कन्जर्भिङ सर्जरी निरन्तर गर्दै आएको केही संस्थामध्ये एक हो। “हामीले क्यान्सर लागेको भाग हटाउने र स्तनको बनावट पुनःस्थापना गर्ने दुवै प्रक्रिया एउटै शल्यक्रियामा सम्पन्न गर्दै आएका छौँ,” डा. रोशनले बताए।

उहाँका अनुसार, सर्जरीपछि स्तनको आकार बिग्रिन नदिन बिरामीकै शरीरबाट मासु (टिस्यु) लिई स्तनको प्राकृतिक बनावट जस्तै बनाउन सकिन्छ। यसले उपचारका साथै महिलाको मानसिक र शारीरिक दुवै पक्षमा ठूलो राहत पुर्‍याउने डा. रूपेशको भनाइ छ।

अस्पतालले हालसम्म २० जना स्तन क्यान्सरका बिरामीमा सफलतापूर्वक ‘ब्रेस्ट कन्जर्भिङ सर्जरी’ गरिसकेको छ। पछिल्लो पटक ७३ वर्षीया एक महिलामा कात्तिक १९ गते ‘अङ्को–प्लास्टिक ब्रेस्ट सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।

डा. रूपेशका अनुसार विकसित देशका ५० वर्षभन्दा माथिका महिलाले पनि स्तन जोगाएर उपचार गर्ने प्रवृत्ति बढिरहेको छ। तर नेपालमा अझै धेरैजसो अवस्थामा स्तन काट्ने विधि प्राथमिक रूपमा अपनाइने गरेको उल्लेख गर्दै उनले भने, “कलिलो उमेरमै स्तन क्यान्सर हुँदा स्तन फाल्नुपर्ने अवस्था न्यून बनाउन हामी निरन्तर प्रयासरत छौँ। सकेसम्म स्तन जोगाएर उपचार गर्ने पक्षमा हामी अभियानकै रूपमा काम गरिरहेका छौँ।”

यस नवीन प्रविधिले ग्रामीण तथा दूरदराजका महिलालाई घरनजिकै गुणस्तरीय क्यान्सर उपचार उपलब्ध गराउनुका साथै उनीहरूको आत्मविश्वास र जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको अस्पतालले जनाएको छ।