स्थानीय धार्मिक पर्यटन प्रवर्धनमा हातेमालो गर्नुपर्ने : प्रदेशसभा सदस्य श्रेष्ठ

120

भक्तपुर । स्थानीय रूपमा रहेका धार्मिक स्थानको प्रचार प्रसार गर्दै र त्यसको महत्त्व बुझाउन सके मात्र पर्यटन प्रवर्धनमा टेवा पुग्ने बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ५ मा अवस्थित मच्छेनारायण मन्दिरको दर्शनका क्रममा उहाँले मच्छेनारायणको प्रचार प्रसारको अभावका कारण भक्तपुरमा धार्मिक पर्यटकको कमी भएको बताउनुभएको हो ।
भक्तपुरमा धेरै मठ मन्दिर तथा धार्मिक पर्यटकीय स्थल प्रचार प्रसारको अभावमा हरेको बताउँदै उक्त मठ मन्दिरहरूको प्रचार प्रसार गर्न सके भक्तपुर साँचै नै भक्तहरूको थलोका रूपमा विकास हुने उहाँको धारणा थियो ।


भक्तपुरमा नै मच्छेनारायणको मन्दिर छ यहाँ पनि मेला लाग्छ भन्ने धेरैलाई थाहा नै नभएको बताउँदै उहाँले यस्ता लुकेर बसेका धार्मिक स्थलको विकास तथा प्रचार प्रसारमा सबैले जोड दिनु पर्ने उहाँको धारणा थियो ।
साबिक छालिङ्ग गाविस हाल चाँगुनारायण नगरपालिका वडा नम्बर ५ गोकुल गाउँमा मच्छेनारायणको मन्दिर रहेको छ ।
प्रत्येक एकादशी र अधिक मासमा यहाँ सदिँयौं देखि मेला लाग्ने गरेको छ । ग्रामीण भेग तथा यातायात सेवा सुविधा अभावका कारण र मन्दिरको प्रचार प्रसारमा कमी हुँदा भक्तपुरका नै धर्मालम्वीहरु यहाँ कमै मात्रामा पुग्ने गरेका थिए ।
हाल चाँगुनारायण नगरपालिका र वडाले धार्मिक स्थलको प्रचार प्रसारमा जोड दिएपछि देशका विभिन्न स्थानबाट धर्मालव्वीहरु मच्छेनारायण पुगेका छन् ।


धार्मिक यात्राका क्रममा नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, लगायत प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुर सभापति दुर्लभ थापा, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ लगायतका विभिन्न महानुभावले अधिक मासको अन्तिम एकादशीका दिन मच्छेनारायणमा मेला भर्नुभएको थियो ।