मध्यपुर थिमि । बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा मध्यपुर थिमिमा शैक्षिक, राजनीतिक, सामाजिक जागरण ल्याउन आजीवन संघर्षरत प्रगतिवादी व्यक्तित्व बैकुण्ठहरि श्रेष्ठको ८४ औं जन्मजयन्ति समारोहमा सम्पन्न गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो समारोहमा ८४औं जन्मजयन्तिको अवसरमा गत मंसिर १ गते “जनवाद र व्यक्तिवाद” विषयमा सम्पन्न भएको बक्तृत्वकला प्रतियोगितामा प्रथम भएका भक्तपुर निस्ट स्कुलका प्रमित भट्टराई, द्वितीय भएका चरखण्डी विद्यामन्दिरका साक्षि अधिकारी, तृतीय भएका एड्भान्स एकेडेमीका समिर सिवाकोटी तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका आदर्श मावि लाय्कूका विमला थिङ लामालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।
भक्तपुर जिल्लाका ९ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएको सो प्रतियोगितामा प्रा.डा धर्मराज अधिकारी, शिक्षाविद तारामान जोशी तथा समाजसेवी कृष्णलाल श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए ।
बैकुण्ठहरि श्रेष्ठको ८४ औं जन्मजयन्ति समारोह तथा पुरस्कार वितरण समारोह अघि मध्यपुर थिमिका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, बुद्धिजिवी,समाजसेवी तथा सर्वसाधारणको सहभागी भएको ¥यालीले नगरपरिक्रमा पश्चात निगुपुखुमा अवस्थित स्व.बैकुण्ठहरि श्रेष्ठको प्रतिमामा प्रमुख अतिथि मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, बैकुण्ठहरि श्रेष्ठकी धर्मपत्नी जगतलक्ष्मी श्रेष्ठ, न्ह्यज्या खलःका अध्यक्ष सुशिला श्रेष्ठलगायत बुद्धिजिवी, समाजसेवी, प्रतिष्ठानका पदाधिकारी तथा सर्वसाधारणले माल्यार्पण गरेका थिए ।
माल्यार्पण पश्चात सञ्चालन भएको पुरस्कार वितरण समारोहमा मन्तव्य दिनुहुँदै नगरप्रमुख श्रेष्ठले प्रतिष्ठानको स्थापनाले बैकुण्ठहरि श्रेष्ठको योगदानबारे मध्यपुरका सर्वसाधारणले जानकारी पाएको बताउनु हुँदै समाजप्रति योगदान गर्ने व्यक्तिको कदर भएको बताउनु भयो । यसबाट उहाँको योगदान अव पुस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । आफू नगरप्रमुखको रुपमा काम गर्न थालेपछि नगरपालिकाको कार्यशैलीमा सुधार भएको र केही महत्वपूर्ण जनअपेक्षित कार्यहरु गर्न खोजेतापनि बहुमतको आडमा त्यसलाई विफल बनाएको तितो अनभव व्यक्त गर्नु हुँदै त्यसता कार्यलाई अविचलित भई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । अहिले व्यक्तिवादी चिन्तन हावी भएकै कारण नगरपालिकामा आफूले कठिनाई भोग्नु परेको बताउनु हुँदै बक्तृत्वकलाको विषयवस्तु चिन्तन गर्न योग्य विषयवस्तु भएको टिप्पणी समेत गर्नु भयो ।
आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्धव सुजखुले बैकुण्ठहरि श्रेष्ठले स्थापना गरेको विद्यालयमा आपूmले काम गर्नु पाएकोमा आफू भाग्यमानी भएको बताउनु हुँदै वर्तमान अवस्थामा पार्टीहरुमा व्यक्तिवादी चिन्तनको हावी भएकाले हालको निर्वाचनमा पनि धनवादले प्रसय पाएको तथा जनवादी चिन्तन गर्नेहरु पछि परेको बताउनु भयो । समाजसेवी एवं प्रतिष्ठानका आजीवन सदस्य कृष्णलाल श्रेष्ठले आदर्श माध्यमिक विद्यालयको स्थापना भएपछि मध्यपुर थिमि जनताहरुले शिक्षा हासिल गर्न सहज भएको बताउनु भयो ।
स्वागत मन्तव्य दिंदै प्रतिष्ठानका कार्यसमिति सदस्य हरिवहादुर श्रेष्ठले बैकुण्ठहरि श्रेष्ठले गरेका योगदानलाई जनसमक्ष ल्याउन तथा पछिल्ला पिंडीलाई जानकारी गराउन प्रतिष्ठान स्थापना भएको बताउनु हुदै समाज प्रति पछिल्ला पिंडीले योगदान गर्ने भावना जागृत गराउनु पर्ने समेत बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले खास गरी बामपन्थी राजनीतिमा लागेकाहरुले जनवादलाई व्यवहारमा लागु पर्ने बताउनु हुँदै नेताहरु सत्तामा गईसकेपछि जनवाद बिर्सेर व्यक्तिवादमा जाने घिनलाग्दो चरित्र रहेको बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रम प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीले सञ्चालन गर्नुभएको थियो ।
Related