स्याउ खेतीबाट समृद्धिको मिसाल: मुस्ताङका आङ्ग्या र छिरिङ दम्पतीको सफल संघर्ष

11

मुस्ताङ— घरायसी खर्च धान्न सुरु गरिएको स्याउ खेती आज देशैभरि प्रेरणादायी उदाहरण बनेको छ। मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ दम्पतीले करिब एक रोपनी जमिनमा सुरु गरेको स्याउ खेती अहिले ६० रोपनीमा फैलिएको छ। सुरुमा व्यावसायिक स्याउ खेतीलाई लिएर तिनकै गाउँलेहरूले शंका र उपहास गरे पनि आज त्यही जोडीको खेतीले राष्ट्रिय स्तरमा उत्कृष्टताको पहिचान बनाइसकेको छ।

सिंचाइको अभाव, पर्खाल उठाउनुपर्ने जोखिम र उच्च पहाडी भूगोलमा खेतीको चुनौतीका बाबजुद आङ्ग्या दम्पतीले निरन्तर मेहनत गरे। सुरुमा परिवारको गुजारा र सन्तानको शिक्षाका लागि सुरुआत गरिएको स्याउ खेतीबाट आज उनीहरूले लाखौं आम्दानी गरिरहेका छन्। खेतीबाट प्राप्त सफलताले प्रेरित भएर स्थापना गरिएको “ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्ग्यानिक फर्म” अहिले मुस्ताङमै नमुना कृषि फार्मको रूपमा स्थापित भएको छ।

यो बर्ष उक्त फार्मले राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार (नगद २ लाख रुपैयाँसहित) तथा गण्डकी प्रदेश सरकारको सर्वोत्कृष्ट कृषक सम्मान प्राप्त गर्न सफल भएको छ।

पोखरामा आयोजित कार्यक्रममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ र सचिव वासुदेव रेग्मीले नगद ५० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरी नमुना कृषकका रूपमा छिरिङ ढोकालाई सम्मान गरेका थिए।

छिरिङ ढोकाले सम्मानप्रति प्रतिक्रिया दिँदै भने, “मेहनतको फल मिठो हुन्छ भन्ने कुरा आजको सम्मानले थप प्रमाणित गरिदियो। यस्तो सम्मान पाइन्छ भन्ने कल्पना पनि गरेका थियौंैन। सरकारले हाम्रो जस्तो गाउँमा आएर कामको मूल्यांकन गरिदिँदा हामीलाई अझ हौसला मिलेको छ।”

वर्तमानमा आङ्ग्या दम्पतीको फार्ममा २५ सयभन्दा बढी स्याउका बोट छन्। यस वर्ष छिमेकी जिल्ला मनाङबाट ५०० वटा हाइडेन्सी प्रजातिका स्याउका बोट थपेर खेती विस्तार गर्ने तयारी भइरहेको छ। गतवर्ष मात्र स्याउ बिक्रीबाट ३५ लाख रुपैयाँ आम्दानी भएको थियो।

त्यस्तै, फार्ममा रहेका ५ सय च्याङ्ग्राबाट १३ लाख रुपैयाँ आम्दानी भएको थियो। हाल उनीहरूले ६ जनालाई स्थायी रोजगारीसमेत दिएका छन्।

प्रदेश सभा (२) का सदस्य विकल शेरचनको पहलमा कालिगण्डकी नदीबाट ५८५ मिटर तल सिँचाइ सुविधा ल्याइएको छ। त्यसपछि तिरी गाउँका अन्य १३ घरधुरीले पनि स्याउ खेती विस्तार गर्ने योजना बनाएका छन्। अब फार्म २ सय रोपनी क्षेत्रफलसम्म विस्तार गर्ने योजना रहेको आङ्ग्या दम्पतीले जानकारी दिएका छन्।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ का वडा अध्यक्ष कर्म घ्यचो गुरुङ भन्छन्, “जोखिम मोलेर सुरु गरिएको स्याउ खेती आज सफलताको मिसाल बनेको छ। उहाँहरूबाट स्याउ खेतीमा लाग्न चाहने किसानहरूले धेरै सिक्न सक्छन्।”

जलवायु परिवर्तनका कारण पानीको मुहान सुक्ने अवस्था आएपछि विस्थापनको जोखिममा रहेका गाउँका लागि आङ्ग्या दम्पतीको सफल स्याउ खेती एक उज्यालो सम्भावनाको ढोका बनेको छ।

गएको वर्ष मुस्ताङ जिल्लाबाट मात्रै करिब ९० करोड रुपैयाँ बराबरको स्याउ निर्यात भएको तथ्यले समेत यहाँको स्याउ खेतीको सम्भावना र योगदानलाई स्पष्ट पार्दछ।

निष्कर्षमा, आङ्ग्या र छिरिङ ढोकाको यो सफल यात्रा मेहनत, समर्पण र दूरदर्शी सोचले कसरी पहाडको कठोर भूगोलमा पनि समृद्धिको बाटो खोल्न सकिन्छ भन्ने प्रेरणादायी प्रमाण हो। नेपालका अन्य कृषकहरूका लागि उनीहरूको कथा एक जीवित उदाहरण बन्न पुगेको छ।