काठमाडौं: दुई नम्बर प्रदेशको सबभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपाल र दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताहरु जनकपुरधाममा भेला हुँदैछन्। अधिकांश नेताहरु जनकपुरधाम पुगिसकेका छन् भने शुक्रबार साँझ नै सबै नेताहरु जनकपुरधाम पुग्दैछन्।
दुई नम्बर प्रदेशको प्रदेश सभाको पहिलो बैठक आइतबार दिउँसो ११ बजे बस्दैछ। प्रदेश सभाको बैठकअघि दलहरुले प्रदेश सरकार तथा संसदीय दलका नेताहरुको खाका तयार पार्न शनिबार बैठक बोलाएको छ।
राजपा र फोरम दुबैले शनिबार बिहानैबाट केन्द्रीय नेतासहित प्रदेश सभा सदस्यहरुको बैठक बोलाएको छ। राजपाले शीताशरण होटलमा बपहान ९ बजेदेखि बैठक बोलाएको राजपाका सचिव एवं प्रदेश सभा सदस्य उपेन्द्र महतोले जानकारी दिए।
यता फोरमले पनि शनिबार विहान नै बैठक बोलाएको फोरम नेता एवं प्रदेश सभा सदस्य शैलेन्द्र साहले बताए। साहका पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरु शुक्रबार साँझ नै जनकपुरधाम पुग्दैछन्।
राजपा सांसद महतोका अनुसार राजपाका अधिकांश नेताहरु पनि साँझसम्म जनकपुरधाम पुग्दैछन्।
फोरमले मुख्यमन्त्री पाउने निश्चित भएकोले संसदीय दलका नेता तथा मुख्यमन्त्रीको उम्मेदबार पनि तय गर्ने तयारी गरेको छ। फोरममा मुख्य मन्त्रीका लागि तीन जना दाबेदार देखिएका छन्। पार्टी उपाध्यक्ष लालबाबु राउत, कोषाध्यक्ष विजय यादव र नेता शैलेन्द्र साह मुख्यमन्त्रीका दाबेदारका रुपमा देखिएका छन्।
दुई नम्बर प्रदेश प्रमुख पनि फोरम कै कोटामा गरेको छ। र, अन्य पदका विषयमा पनि उक्त बैठकमा छलफल हुने जनाइएको छ।
यता राजपाले उपमुख्यमन्त्री तथा सभामुख पाउने सम्भावना रहेको छ। जसका लागि शनिबार कै बैठकमा छलफल हुनेछ।
जनकपुरधाममा दुई दलका बैठक बाहेक राजपा र फोरमका नेताहरुको संयुक्त बैठक बस्ने पनि तयारी रहेको छ। प्रदेश सरकार गठनको भागबण्डा तथा सभामुखलगायतका विषयमा शिर्ष नेताहरु जनकपुरधाम मै छलफल गर्नेछन्।








































