हनुमन्ते सफाईको १०औं हप्ता, ‘प्रयोग नभएको कण्डम ४ डोको भेटियो’

1490

 

बलराम प्यासी
काठमाडौं ।
प्रयोग भइसकेको कण्डमबाट पछिल्लो समय ‘लोकल मदिरा’ उत्पादन गरेको पाइएको प्रहरीले बताएको एकहप्ता पनि नबित्दै हनुमन्ते नदीमा भने प्रयोग नै नभएको सिलप्याक करीव ४ डोको नयाँ कण्डम फ्याकिएको अवस्थामा शनिबार फेला परेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल, काठमाडौंको नरेफाँट र भक्तपुरको लौकहिल्थली सिमानामा पर्ने हनुमन्ते नदी सफाईको क्रममा हनुमन्ते त्रिपुरासंगम (निलोपुल)मा सिल नखोलिएको पाकेटसहित प्रयोग नै नभएको करीव ४ डोको कण्डम फेला परेपछि लोकगायीका रेखा शाहले जिब्रो टोकिन् । उनी शनिबारको हनुमन्ते सफाई कार्यक्रमको प्रमुख अतिथि थिइन ।
त्यतिमात्रै नभई हनुमन्ते सफाई कार्यक्रमकी उपसंयोजक एवम् सुर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेतलगायत सफाइमा जुटेका महिलाहरु प्रयोग नै नभएको ४ डोको कण्डम कसले फ्याक्यो होला भनेर मुखामुख गर्दै हाँस्दै थिए ।
कुनै दातृसंस्थाबाट गैरसरकारी संस्थाले निःशुल्क वितरणका लागि ल्याएको कण्डम समयमै वितरण हुन नसकेपछि मिति गुज्रेका कारण हनुमन्तेमा फ्याकिएको अनुमान गरिएको छ भने अर्काेतिर जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको कण्डम मिति गुज्रेको (एक्स्पायर भएको) कारण सुरक्षित ठाउँमा नष्ट गर्नुको साटो प्याकेट सहितै नदीमा फ्याँकेको आशंका गरिएको छ ।
हनुमन्ते नदी सफाइ अभियान दशौं हप्ता भएतापनि तीन जिल्लाको संगम अर्थात हनुमन्ते त्रिपुरासंगम (निलोपुल) मा भने २२ गते शनिबार दोस्रोपटक सफा गरि करीव ३ टन फोहोर संकलन गरिएको थियो ।
उपत्यकाका नदीनालाहरु सफा गर्ने क्रममा गत हप्ता वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘रातामकै’को सहभागितामा हनुमन्ते सफाई गरिएको थियो ।
शनिबारको हनुमन्ते सफा कार्यक्रममा पुर्वमन्त्री एवम सांसद महेश बस्नेत, हनुमन्ते नदी सफाई अभियानका संयोजक एवम् सुर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापालगायत स्थानीय अभियन्ता र सामाजिक कार्यकर्ताको सहभागिता रहेको थियो ।
बागमतीमात्रै नभई मनोहरा र हनुमन्ते नदी सफाइ अभियान हरेक शनिबार जारी रहने अभियन्ता रुद्र पौडेलले बताए ।