Home निर्वाचन २०७५ सालमा ओरालो लागेको सेयर बजार ०७६ मा उकालो लाग्ला कि ?
नयाँ वर्ष सुरु हुन लाग्दा बित्ने वर्षको समीक्षा गरिन्छ र गर्नुपर्ने हुन्छ पनि । नेपाली संस्कारमा विगतलाई पनि सम्मान गर्ने कृतज्ञता प्रकट गर्ने प्रचलन छ । राम्रो भएन भने पनि त्यसलाई दुत्कार्नुको कुनै अर्थ रहन्न । बरु त्यसबाट पाठ सिकेर अब भविष्यमा त्यसमा सुधार गर्नु बुद्धिमानी हुन्छ । अर्थतन्त्रको एउटा पाटो सेयर बजार विगत वर्षमा कस्तो रहन गयो ? त्यसबाट सर्वसाधारण लगानीकर्ताले कमाउन सके–सकेनन् ? उनीहरूको लगानीको उत्साह कस्तो रहन पुग्यो ? यो क्षेत्रलाई सुधार गर्न केही काम भए कि ? भविष्यमा सेयर बजारको अवस्था कस्तो रहला ? यी अहिलेका महत्वका विषय हुन् ।
सेयर बजारको दृष्टिबाट २०७५ को समीक्षा
सेयर बजारको दृष्टिबाट हेर्दा वर्ष २०७५ सन्तोषजनक रहेन । वर्षको सुरुदेखि नै धेरै माथि जाने र धेरै तल ओर्लने अवस्था रहेन । सेयर बजार लगभग न्यून विन्दुको वरिपरि नै रहन पुग्यो । अघिल्लो वर्ष नेकपाको सरकार बनेसँगै अर्थमन्त्रीले सेयरमा लगानी जुवासरह भएको र अर्थतन्त्रमा यसको भूमिका नभएको बताएपछि सेयर बजार निरुत्साहित हुन पुग्यो जसले गर्दा सेयरको खरिद–बिक्री स्वात्तै घटेर गयो । अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्को विरोध भएपछि पछि अर्थमन्त्री मैलै त्यसो भनेको होइन, सेयर बजारमा भएका कमीकमजोरीलाई हटाउनुपर्छ भनेको भनेर आफ्नो बोलीलाई सुधार गरे । पछि बजेटमा सम्बोधन गरिन्छ कि भन्ने आशा गरेका लगानीकर्ता बजेट आउँदा कुनै सुधार नगरिएपछि निरास नै बन्नुपर्यो । पहिलेदेखि तरलताको अभाव खेपिरहेका बैंकहरूले अघिल्लो आर्थिक वर्ष समाप्तिमा आफ्नो आर्थिक प्रगति विवरण सार्वजनिक गरे । जसमा प्रायः सबै बैंकले नाफा आर्थिक विवरण आयो । त्यसले भदौ महिनामा सेयर बजार सुधारको अवस्थामा जान्छ कि जस्तो अवस्था आयो । सो अवस्था भने लामो समय रहेन । बैंकहरूलाई जथाभावी लाभांश घोषणा गर्न बन्देज लागेपछि सेयर खरिद–बिक्रीमा पुनः ओरालो लाग्यो ।
सेयर बजारलाई गति दिन मौद्रिक नीतिमा केही सुधार गरिए पनि त्यसको ठूलो प्रभाव परेन । दसैं–तिहारमा बढ्नुपर्ने सेयरको खरिद–बिक्री उकालो लाग्न सकेन । तिहारपछि केही बढ्ने जस्तो देखियो तर त्यसले गति लिन सकेन । त्यसपछि त सेयर बजार उठ्न सकेन । न्यून विन्दुमै रहन पुग्यो । ०७५ मा सेयर लागानीकर्ता अत्यन्तै निरुत्साहित भए । उनीहरूले ठूलो धनाराशि गुमाउन पुगे । यही वर्ष सेयर कारोबार अनलाइन प्रविधिमा गयो, विभिन्न प्रक्रियागत कमजोरी तथा सफ्टवेयरको खरावी तथा चलाउने कमजोरीले केही दिन कारोबारमा पनि असर पर्याे । चैत १५ र १६ गते सरकारले लगानी सम्मेलन गर्यो । लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताको उल्लेख्य उपस्थिति भयो । केही लगानीका प्रतिबद्धता पनि आए । यसले भविष्यमा औद्योगिक लहर ल्याउला कि भन्ने आशा पनि जगाएको छ । यही कारण होला चैतको उत्तरार्धमा सेयर बजारमा केही सुधार हुन पुग्यो । चैतको अन्तिम दिन भने झिनो रूपमा घट्यो । सो दिन नेप्से परिसूचक शून्य दशमलव शून्य प्रतिशतले घट्न पुग्यो । यो वर्षभर सेयर बजार उकालो लाग्न सकेन नै लगानीकर्ताको आकर्षण बैंककै सेयरमा अडिन पुग्यो । बैंकपछि जलविद्युत्, बिमा र लघुवित्तमा लगानीकर्ताको चासो देखियो । वर्षभर उत्पादनमूलक उद्योगको सेयरमा लगानीकर्ता खासै आकर्षित भएनन् ।
आउँदो वर्ष कस्तो रहला ?
वर्ष ०७५ मा सेयर बजार आशालाग्दो भएन नै आउँदो वर्ष कस्तो रहला सबैको चासोको विषय बन्न पुगेको छ । अहिलेसम्मको आर्थिक क्रियाकलाप र बजेट खर्चको अवस्थालाई हेर्दा आउँदो वर्ष पनि सेयर बजार त्यस्तो उल्लेख्य रूपमा माथि उठ्छ भन्न किन्न । तीनै तहका सरकारले बजेट कार्यान्वयन गर्न सके, आर्थिक क्रियाकलाप बढ्न गयो भने जनताको आयमा पनि वृद्धि हुन्छ । यस्तो अवस्थामा सेयर किन–बेच बढ्न सक्छ । अर्को, सरकारले उद्योग, व्यवसायलाई सक्रिय पार्ने बताएकाले त्यही अनुसार काम हुन थाले भने सेयरमा हुने लगानी बढ्न सक्छ ।
भर्खरै सरकारले गरेको लगानी सम्मेलनमा अघि सारेका आयोजनामा लगानी आउन सक्यो भने औद्योगिक क्रियाकलाप बढ्न सक्छ । यी ठूला आयोजनामा लगानी आउन थाल्यो भने थप उत्पादनमूलक उद्योगमा पनि लगानी हुन थाल्छ । बाहिरको लगानी थप आकर्षित हुन थाल्छ भने आन्तरिक लानी पनि बढ्न थाल्छ । जसले गर्दा सेयरको संख्यामा बढोत्तरी त हुन्छ नै खरिद–बिक्रीमा पनि सक्रियता आउन सक्छ । सरकारले सेयरमा विदेशी लगानी खुला गरेको बताएको छ । संस्थागतरूपमा गैरआवासीय नेपालीले लगानी गर्न पाउने सरकारले निर्णय गरेको छ । गैरआवासीय नेपालीले संस्था दर्ता गरेर सोही संस्थामार्फत् लगानी गर्न पाउनेछन् । यसले नेपालको सेयर कारोबारलाई सक्रिय बनाउन सक्छ । यस्तो अवस्थामा सेयर लगानीकर्ता पुनः उत्साहित हुन सक्ने अवस्था आउन सक्छ । यस्ता सम्भावना प्रशस्त छन् नै तर सरकारले योजना अघि सार्ने तर त्यससम्बन्धी वातावरण नबनाउने, बाह्य लगानी प्रतिबद्धता जनाए जस्तो नआउने, बजेट खर्च गर्न नसक्ने हो भने सेयर बजारको अवस्थामा सुधार नभर सामान्य नै हुन पनि सक्छ । सरकारले विकासको विषयलाई यति तामझामका साथ उठाएकाले अर्थतन्त्र सक्रिय हुनासाथ सेयर बजारमा अवश्य प्रभाव पर्नेछ ।नेपालतारा
Related