काठमाडौं । नेपालमा वर्षेनी यातायात तथा यातायातका साधन आयात बढ्दै गएकको पाइएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका तथ्याङ्क अनुसार वर्षेनी अरबौँ रकमका यातायातका साधन तथा तिनका पार्टपुर्जा आयात हुने गरेको पाइएको हो ।
गएको आर्थिक वर्षको पहिलो एघार महिनामा ७७ अरब रुपैयाँ बढीको यातायातका साधन तथा तिनका पार्टपुर्जा आयात भएको केन्द्रको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७४–०७५मा कुल ७७ अरब ८२ करोड २३ लाख रुपैयाँको यातायात तथा तिनका पार्टपुर्जा आयात भएको केन्द्रको तथ्याङ्क छ । गएको आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्मको अवधिमा यो परिमाणको यातायातको साधन आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
गएको आर्थिक वर्षमा यो आयात अघिल्लो आर्थिक वर्ष २०७३–०७४को तुलनामा साढे ५ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा ७३ अरब ७३ करोड ५ लाख ४ हजार रुपैयाँ बराबरको यातायात तथा तिनका पार्टपुर्जा आयात भएका थिए । आर्थिक वर्ष २०७३–०७४मा कुल ७९ अरब ७७ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको यातायात तथा तिनका पार्ट पुर्जा आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
उता भन्सार विभागले भने कुन सवारी साधन, र कुन सवारी साधनका पार्ट पुर्जा कति कतिको आयात भएको छ, भन्ने स्पष्ट नहुने बताएको छ । सबैको एचएस कोड एउटै हुने भएकाले कुन सवारी साधन कति रकम बराबरको आयात भएको छ, त्यसलाई छुट्याउने नमिल्ने विभागले बताएको छ ।







































