५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति खड्कालाई

1
काठमाडौं। नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका छन्। जेन–जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका प्रतिनिधिहरूले आज अपरान्ह पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन्।
निवेदन बुझाएपछि पार्टीका नेता गुरु घिमिरेले जानकारी दिएअनुसार, आगामी मंसिरभित्र पार्टीको नियमित महाधिवेशन गराउने कुरामा पदाधिकारीहरूबीच एकमत हुन नसकेपछि महाधिवेशन प्रतिनिधिहरूले यो कदम चालेका हुन्।
नेता घिमिरेले नियमित महाधिवेशनको प्रक्रिया सुरु नभएकाले आफूहरूले महाधिवेशन प्रतिनिधिको विशेषाधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको माग गरेको स्पष्ट पारे। उनले यो कदम महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रीय कार्य समितिको क्षेत्राधिकारभित्र रहेर अघि बढाएको बताए।
देशभरका साथीहरू जो झन्डैझन्डै ५३ प्रतिशतको संख्यामा हस्ताक्षर गर्नुभएको छ । पार्टीको यो सिङ्गो आत्मा, यसको मेरुदण्ड, पार्टीको मूल प्रवाहको रूपमा रहनु भएका ती साथीहरूको भावनालाई प्रतिनिधित्व गर्दै आज हामीले हाम्रो पार्टीको श्रद्धेय कार्यवाहक सभापतिलाई यो आवेदन पत्र वा निवेदन दिने निर्णय गरेका छौं, नेता घिमिरेले भने।
महाधिवेशन प्रतिनिधिहरूमा कोसी प्रदेशका ४६९ जनाले, मधेश प्रदेशमा ४१९, बागमती प्रदेशमा ४९२, गण्डकी प्रदेशमा २५९, लुम्बिनी प्रदेशमा ३८५ , कर्णाली प्रदेशमा १३७ सुदुरपश्चिम प्रदेशमा १४० , सुवेछुक तथा जनसम्पर्क तर्फबाट १८७ जना गरी जम्मा २४ सय ८८ जनाले हस्ताक्षर गरेका थिए ।