भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरको २३ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले निर्माण क्षेत्रमा हाल विभिन्न अवरोध, कठिनाइ आइरहेको छ तर यस्तो अवस्थामा पनि भक्तपुर निर्माण व्यवसायी संघ सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेनजी आन्दोलनले २४ घण्टामा सरकार ढाल्यो नागरिकहरुको हितको लागि प्रधानमन्त्रीसहित नयाँ मन्त्री चुनियो । हामी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीलाई शुभकामनासहित निर्माण व्यवसायी संघ र व्यवसायीहरुको मूल समस्या बारे अवगत गराउन पुग्यौं । तर सरकार फेरेसँगै निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण र भइपर्ने समस्याको समाधान हुने अझै देखिएन । हामीले सरकारसँग हरेक वर्ष टेण्डर, भुक्तानीको बारेमा हरगुहार गर्नुपर्छ तर कमजोरी निर्माण व्यवसायी कै देखिन्छ यस्ता समस्याका बाबजुद पनि बिकासका कार्ययोजनाहरुलाई अगाडी बढाउँदै तत्पर भई काम गर्दा तत्कालिन नागरिक सरकारले हजारौं टेण्डर रद्द गरिदिएको छ । नागरिक एवं समाजको हितका लागि बनाइएको सरकारले धरातलमा भएको निर्माण व्यवसायीहरुलाई अझ ओझेलमा पारिरहेको हुँदा हामी सम्पूर्ण निर्माण व्यवसायीहरु एकजुट भएर लाग्नु पर्छ ।’
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी मैया धौबन्जारले निर्माण व्यवसायी संघमा पुरुषलाई मात्र नभई महिलाहरुलाई पनि उच्च दर्जामा राखी सशक्तिकरण गर्नुभएकोमा हर्ष व्यक्त गर्नुभएको छ । उहाँले पुरुषलाई भन्दा महिलाहरुलाई हरेक क्षेत्रमा धेरै समस्याको सामना गर्नुपरेको छ तर अहिले महिलाहरुलाई तपाईहरु पनि कोही भन्दा कोही कम हुनुहुँदै भनेर आभास गराउने निर्माण व्यवसायी क्षेत्रसमेत धरातलमा भएको देख्दा दुःख व्यक्त गर्दै अध्यक्ष धौबन्जारले हामी उद्योगी हजुरहरु निर्माण व्यवसायी हाम्रो संघ फरक भएता पनि यस निर्माण व्यवसायी संघ भक्तपुरलाई गर्नुपर्ने साथसहयोग र सहकार्य सदैव रहने भनी प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष विजय कुमार देउजाले सरकार र समाजले निर्माण व्यवसायी संघप्रति राखेको अबैधानिक धारणामाथि खेद व्यक्त गर्नुभयो । उहाँले राज्यले गुणस्तरीय निर्माणको कुरामात्र गर्छ तर गुणस्तरीय निर्माण व्यवसायी संघ उत्पादनमा साथ सहयोग नगरेको बताउँदै हाल ३० देखि ३२ हजार जना निर्माण व्यवसायीले काम गर्ने अवस्था नरहेको जानकारी दिनुभयो । अध्यक्ष देउजाले म्याद थप हाम्रो बाध्यता नभई सरकारी कार्यालयको बाध्यता हो तर त्यस विषयमा पनि निर्माण व्यवसायीलाई नै आरोप लाग्ने र त्यसपछि भइपरेका समस्याको भागीदारी हुनुपर्ने भनी प्रष्ट्याउँदै हामी सरकारका हरेक पार्टी र मन्त्रालयमा गएर निर्माण व्यवसायीको कार्यक्षेत्रलाई सहज बनाउन पहल गरेका छौं केही हदसम्म सहज बन्दै गर्दा सरकार ढलेसँगै आज फेरि हामी त्यही अवस्थामा आउने हुँदा निर्माण व्यवसायीहरुले आफ्नो हकहितका निमित्त विकल्प खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा उपस्थित संघ, महासंघ एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले निर्माण व्यवसायी संघको २३ औं साधारण सभाको शुभकामनासहित निर्माण व्यवसायीहरुले आफ्नो कार्ययोजनामा भएका कमीकमजोरीलाई आंकलन गर्नु पर्ने बताएका छन् । उनीहरुले बिड शत प्रतिशत नराखी एकआपसमा प्रतिस्पर्धा गर्दा पछि गएर आफैलाई समस्या हुने अवगत गराउँदै निर्माण व्यवसायीहरुलाई काम गर्न गारो छ जेनजी आन्दोलन पश्चात त झन् बढी समस्याको सामना गर्नुपरेको हुनाले सबै निर्माण व्यवसायीहरुले एकअर्कामा होडबाजी नगरी एकनाथ आफैबाट सुध्रिकरण ल्याउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा संघका महासचिव सुधिर थापाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष हरिशरण बास्तोलाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त कार्यक्रममा विगत २० वर्ष देखि निरन्तर निर्माण कार्यमा सहयोग पु¥याउँदै आउनु हुने नगरकोट कन्स्ट्रक्सन एण्ड बिल्डर्स, एस.बी.आर निर्माण सेवा, शिवशक्ति कन्स्ट्रक्सन, दुवाकोट कन्स्ट्रक्सन प्रा.लि, खरिढुङ्गा निर्माण सेवा, भण्डारी बिल्डर्स, गोल्मेश्वर कन्स्ट्रक्सन कम्पनी प्रा.लि, पलान्चोक कन्स्ट्रक्सन प्रा.लि, स्वादी निर्माण सेवा र चक्रेश्वरी निर्माण सेवा प्रा.लिका संचालकहरुलाई सम्मान स्वरुप खादा ओढाएर कदर पत्र दिइएको थियो । त्यस्तै यस संघको २३ औं साधारण सभा सफल बनाउन आर्थिक रुपमा सहयोग पु¥याउनु हुने तुल्सी कन्स्ट्रक्सन, शेर कन्स्ट्रक्सन एण्ड कन्भे प्रा.लि, एस कन्स्ट्रक्सन प्रा.लि, एस स्मार्ट कन्स्ट्रक्सन प्रा.लि, ए.अल.इज.वेल कन्स्ट्रक्सन प्रा.लि, रोयल कन्स्ट्रक्सन, हिमढुंग एण्ड थोकर कन्स्ट्रक्सन प्रा.लि, आश्रय निर्माण सेवा, जगदम्बा हिम पाइप इन्डस्ट्रिज प्रा.लि, बिरुवा कन्स्ट्रक्सन प्रा.लि, शैलुङ्ग कन्स्ट्रक्सन एण्ड डिप ट्युववेल कम्पनी प्रा.लि र साइटेक कन्स्ट्रक्सन प्रा.लिका संचालकहरुलाई मायाको चिनो दिई सम्मान गरिएको थियो ।
२ दिने ई–जिपी तालिम
निर्माण व्यवसायी संघ भक्तपुरले २३ औं वार्षिक साधारण सभाको अवसरमा २ दिने ई–जिपी तालिमको आयोजना गरेको छ । यस तालिममा व्यवसायी र व्यवसायी फर्ममा आबद्ध प्राविधिकहरुलाई ई–जिपी अर्थात् विद्युतीय खरिद प्रणालीको बारेमा तालिम दिइएको संघका अध्यक्ष विजयकुमार देउजाले जानकारी दिनुभयो । यस तालिमबाट निर्माण व्यवसायीहरु अनलाइन टेण्डर बारे जानकार भई मद्दत पुग्ने हुँदा संघले हरेक वर्ष यो तालिम संचालन गरेको पनि उहाँले बताउनुभयो । यस तालिममा ५० जनाको सहभागिता रहेको थियो ।







































