बाढीपहिरो र डुबानबाट १ सय ११ को मृत्यु, ३५ जना बेपत्ता

270

काठमाडौं,

देशभरि बाढी, पहिरो र  डुबानबाट १ सय ११ जनाको ज्यान गएको छ। गृहमन्त्री  जर्नादन शर्माले मंगलबारको संसद बैठकमा हालसम्म  बाढी, पहिरो र डुबानबाट १ सय ११ को‍ को मृत्यु भएको  ३५ जना बेपत्ता भएका,  हजारौँ घर परिवार बिस्थापित भएका र दशौँ हजार घर डुबानमा परेको बताए।

मन्त्री शर्माले बाढीपहिरो र डुबानमा परेकाहरुको उद्धार र राहत  कार्य जारी रहेको बताए। उद्धार कार्यमा स्थानीय जनप्रतिनिधि, युवाहरु तथा नेपाली सेना खटिएको उनले  बताए।

शर्माले २८ गतेको मन्त्रिपरिषदबाट प्रधानमन्त्री शेरबहादुर देउवाले संकटको अवस्थामा उद्धार तथा राहतमा जुट्न, खाद्यान्नको व्यवस्था गर्ने, लत्ताकपडा, भाँडाकुडा,अस्थायी सुरक्षित आवास निर्माण गर्ने निर्देशन गरेको र  मृतकको परिवारलाई प्रतिमृतक २ लाख वितरण र  मर्मत गरेर बस्न मिल्ने घरलाई १० हजार वितरण गर्ने बताएका छन्।

यसका साथै उनले क्षति भएका घरहरुको क्षति मूल्यांकन गरेर त्यसको आधारमा तत्कालीन,मध्यकालीन र दीर्घकालीन निर्णय गरेर जाने बताए।  घर, सडक, पुल भत्किने क्रम निरन्तर भएकाले भौतिक योजना तथा निर्माण मन्त्रालयबाट निरन्तर काम भइरहेको समेत उनले बताए।

उनले यो अवस्था भूकम्पपछिको अर्को विपत्ति  भएको बताएका छन्। विजुलीको पोल ढल्नेदेखि टावर ढलेकाले पानी नसुकेसम्म निर्माण नहुने जानकारी गराए।

विपत व्यवस्थापन ऐन  कानून मन्त्रालयमा पठाएको उनले बताए। आमजनतालाई खाद्यान्न तथा राहतको व्यवस्था गर्न विराटनगर बेसबाट दुईवटा हेलिकप्टर, जनकपुरबाट  ३ र विरगंजबाट  ३ हेलिकप्टर परिचालन गरिएको उनले बताए।

विराटनगर बेसबाट सप्तरी, सुनसरी, मोरङ, झापामा , जनकपुरबाट सर्लाही, रौतहट, महोत्तरीतिर र  नेपालगंज बेसबाट बाँकेमा काम भइरहेको उनले जानकारी गराए।

आज र भोलिभित्र राहत बाँडी सक्ने उनले बताएका  छन्। सबै सांसदले आफ्नो क्षेत्रको समस्या केन्द्रीत गरेर  राहत बाँड्न सहयोग  गर्न   उनले अाह्वान गरेका छन्।  विगतको जस्तो राहत वितरण अपारदर्शी नहोस् भनेर स्थानीय प्रशासनमार्फत एकद्वार प्रणालीमार्फत राहत वितरण गरिएको उनले बताए।

पहाडमा पहिरोले पाँचथर, कास्कीमा क्षति भइरहेको र उद्धार,राहतको कार्य जारी रहेको उनले बताए। उनले  तराईका  सप्तरी, सर्लाही, रौतहट, सुनसरी, मोरङ, झापामा बढी क्षति भएको बताए ।