‘नेमकिपाका तर्फबाट गाविस अध्यक्ष बन्नुभएका स्व.जयराम बासुकलाकै नेतृत्वमा ताथलीमा विकासको विजारोपण भएको हो, हामी सोही विकासको विरुवा हुर्काउन प्रतिवद्ध छौं ।
’ स्थानीय तहको निर्वाचन २०७४ को क्रममा ताथलीमा चुनाव प्रचारको क्रममा उम्मेदवार बनेकादेखि लिएर पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले त्यसरी प्रतिवद्धता जनाएको आजै जस्तै लाग्छ । तर, आज विजयी भएको यति लामो समय भैसकेको छ । योबीचमा लामो समय बितिसकेको छ ।
यही बीचमा साउन २४ गते पनि सकिसकेको छ । साउन २४ ताथलीको लागि महत्वपूर्ण दिन पनि हो, किनभने साउन २४ गते ताथलीवासीले अभिभावकका रुपमा स्वीकार गरेका जयराम बासुकलालाई विशेष रुपमा सम्झिने दिन पनि हो ।
हुन त जयराम बासुकलालाई दिनदिनै नसम्झिने होइन तैपनि साउन २४ गते भने अझ फरक तरिकाले सम्झिने दिन हो ।
ताथलीको विकासको लागि, पार्टी विस्तारको लागि जयराम बासुकलाको योगदान कति छ भन्ने कुरा बताएर, लेखेर र भनेर साध्य छैन ।
यस्ता व्यक्तित्व नुहँदा ताथलीको लागि कति घाटा भएको छ ?, ताथलीवासीका लागि कति दुःख परेको छ ? ताथलीमा रहेका विभिन्न संघसंस्थाहरुका लागि कति नोक्सान भएको छ ? त्यसको अुनभव सबैले गरेका छन् ।
जयराम बासुकलाको स्थान त कोहीले लिन सक्तैन, उनले जस्तै गरी कोहीले पनि काम त गर्न सक्तैन तर उनले गरेको कामको मूल्यांकन, योगदानको स्मरण त गर्नैपर्छ ।
त्यो पनि व्यक्तिगत रुपमा नभएर संस्थागत रुपमै हुनुपर्छ ।
जयराम बासुकलाको योगदानलाई सम्झनका लागि ताथलीमा जयराम स्मृति अक्षय कोष निर्माण गरिएको छ । तर त्यसको क्रियाशीलता शिथिल भएको छ ।
यो पटकको साउनमा त्यो कोषले के काम गर्यो ? भन्ने प्रश्न पनि छ । यतिमात्र होइन, नेमकिपा ताथली समिति छ, जयराम बासुकलाकै रोहबरमा अघि बढेका शैक्षिक संस्था, सहकारी छ ।
यतिमात्र होइन, अहिले त जनप्रतिनीधि पनि आएको अवस्था छ ।
तर कोहीले पनि संस्थागत रुपमा जयराम बासुकलालाई स्मरण गरेन ।
चुनावको क्रममा हरेक टोलमा जाँदा, वस्तीमा पुग्दा, व्यक्तिकोमा पुग्दा जयराम बासुकलाको योगदानको सबैले खुबै प्रचार गरे । तर आज योगदानलाई सामुहिक रुपमा, संस्थागत रुपमा सम्झिने काम कुनै निकायबाट भएन । हुन त जयराम बासुकला तत्कालीन नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका कोषाध्यक्ष पनि हुन् ।
न त ताथलीवासीले सम्झे, न त जिल्ला समितिले नै । यसअर्थमा के जयराम बासुकला बिर्सर्दै गएका व्यक्ति हुन् ? भन्ने प्रश्न सबैकोमा छ ।
० हरिसुन्दर छुकां