बाढीले बगाएर भारत पुगेका वन्यजन्तु फर्काउने प्रयास भइरहेको नेपाली अधिकारीहरुले जनाएका छन्।
जनधनको क्षतिसँगै बाढीबाट संरक्षित वन्यजन्तु पनि प्रभावित भएका छन्।
देशका विभिन्न भागमा रहेका राष्ट्रिय निकुञ्ज र आरक्ष डुबानमा पर्दा केही वन्यजन्तु मरेका छन् भने केही हराइरहेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा, ७ वटा चित्तल र रतुवा मरेको अधिकारीहरुले बताएका छन्।
बाढीमा बगेर दुईवटा गैँडा भारतको बाल्मिकी नगर र एउटा गैँडा त्यसभन्दा दक्षिण-पूर्वमा रहेको बगाह पुगेका छन्।
ती गैँडालाई नेपाल फिर्ता ल्याउने प्रयास भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन नुरेन्द्र अर्यालले जनाए।
उनले भने, “भारत पुगेका गैँडा ल्याउने प्रयास स्वरुप त्यहाँका अधिकारीहरुसँग पनि समन्वय गरेर प्राविधिक टोली परिचालन गर्न लागिएको छ।”
अधिकारीहरुका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रका वन्यजन्तु बाढीबाट सबैभन्दा धेरै प्रभावित भएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, “बर्दिया खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रका २५७ वटा कृष्णसारमध्ये २० वटा हराइरहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा पनि क्षति भएको छ। त्यहाँको सौराहादेखि कसरा क्षेत्रसम्म डुबानमा परेको छ।”
कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका १२ वटा अर्ना पनि डुबानमा परेको बताइएको छ।
बाढीले बर्दिया राष्ट्रिय निकुञ्ज, कोशी वन्यजन्तु आरक्ष र पर्सा राष्ट्रिय निकुञ्जमा खासै असर नगरेको अधिकारीहरुले बताएका छन्।