न्यूयोर्क (अमेरिका) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । डलरको भाउमा आएको कमी र अमेरिकी ड्रिलरहरूले आयल रिगमा गरेको कटौतीले शुक्रवार तेलको भाउले टेवा पाएको हो । पछिल्लो ३ हप्तामध्ये २ हप्तामा अमेरिकी ऊर्जा कम्पनीहरूले आयल रिग कटौती गरेको ऊर्जा सेवा प्रदायक कम्पनी बेकर ह्यूजले बताएको थियो । कच्चा तेलको भाउ घटेपछि ड्रिलरहरूको लगानी योजनामा कमी आएको छ । अगष्ट १८ सम्मको हप्तामा आयल रिगको सङ्ख्या ५ ले घटेर ७ सय ६३ मा आएको बेकर ह्यूजले बताएको छ ।
हप्ताको शुरूमा सरकारले सार्वजनिक गरेको तथ्याङ्कले भने अमेरिकामा कच्चा तेलको उत्पादन बढिरहेको देखाएको थियो । शुक्रवार न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा कारोबार बन्द हुँदा सेप्टेम्बर डेलिभरीको वेष्ट टेक्सास इण्टरमिडियट (डब्ल्यूटीआई)को भाउ प्रतिब्यारेल ४८ डलर ५१ सेण्टमा आएको थियो । उक्त दिन अमेरिकी बेञ्चमार्कको भाउ १ डलर ४२ सेण्ट अर्थात् ३ प्रतिशतले बढेको थियो । उता, लण्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा अक्टोबर डेलिभरीको ब्रेण्ट क्रुडको भाउ १ डलर ६९ सेण्ट अर्थात् ३ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल ५२ डलर ७२ सेण्ट पुगेको थियो ।
शुक्रवार दुवै बेञ्चमार्कको भाउ बढे पनि गत हप्ता यसमा २ प्रतिशतभन्दा बढीको कमी आएको छ । शुक्रवार तेलको भाउ बढे पनि तेल बजार बियरिश नै रहेको टाइचे क्यापिटल एड्भाइजर्सका संस्थापक सदस्य तारिक जाहिरले भने । ‘मुख्य प्रश्न हामीले इन्भेण्टरी निरन्तर घटेको देख्न पाउँछौं पाउँदैनौं भन्ने हो,’ ट्रेडिशन इनर्जीका बजार अनुसन्धान निर्देशक जीने म्याकगिलनले भने ।
अक्टोबरमा नाइजेरियाको कच्चा तेल निर्यात दैनिक १७ लाख २० हजार ब्यारेलले घट्ने अपेक्षा गरिएको छ । उता, विश्वको सबैभन्दा ठूलो तेल खपतकर्ता अमेरिकामा पनि आपूर्ति घट्दै गएको सङ्केत देखिन थालेको छ । एजेन्सी