भारतमा तीन तलाक असंवैधानिक

339

काठमाडौं । भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा रहेको ट्रिपल तलाकको प्रचलनलाई असंवैधानिक घोषणा गर्दै यसको प्रयोगमा ६ महिनाको रोक लगाएको छ ।

मुसलमान समुदायमा पतिले पत्नीलाई सम्बन्ध विच्छेद गर्दा तीन पटक तलाक भन्ने प्रचलन संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतले आज यस्तो फैसला सुनाएको हो । यसका साथै अदालतले यस विषयमा नयाँ कानुन ६ महिनाभित्र बनाउन सरकारलाई निर्देशन समेत दिएको छ ।

भारतमा रहेका केही मुसलमान महिला जसले आफ्नो श्रीमान मार्फत तलाक–तलाक–तलाक भनेको भरमा सम्बन्ध विच्छेद गरेका थिए, यसले उनीहरुलाई केही राहत मिलेको महसुस गरिएको छ । केही मुसलमान महिलाले यो प्रचलन विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए जसउपर सर्वोच्च अदालतले यस्तो फैसला सुनाएको हो ।

“यो एकदम संवेदनशील विषय हो, जहाँ मानिसको भावना जोडिएको हुन्छ । हामीले यस विषयमा भारत सरकारलाई आवश्यक नीति बनाउनलाई निर्देशन दिएका छौं,” न्यायाधिस जे. एस खेरारले ६ महिनाको लागि प्रतिबन्ध लगाइएको ट्रिपल तलाकको नियमबारे मिडियालाई भने ।