बाढीपीडितमाथि विभेद, एमालेलाई भोट नदिनेले राहत नै पाएनन्

387

इनरुवा– सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो र तर उनले राहत पाएनन् ।

कारण थियो, उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान । आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उनले बताए ।

उनकै कुरामा थप्छन् स्थानीय भनमन्ता राम पनि । उनको दुखेसो पनि उस्तै छ । उनले पनि एक साता अगाडि आएको बाढीबाट पूर्ण प्रभावित भए पनि राजनीतिमा फरक आस्थाकै कारण राहत पाएनन् ।

यी दुई त्यो ठाउँका लागि प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवार राम बस्तीले अहिलेसम्म राहत पाएका छैनन् । सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।

एक साता अगाडि आएको बाढीबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय सुवालाल रामले बताए ।

वडामा नेकपा एमाले विजयी भयो, तर वडा अध्यक्षले राहतै नदिएको स्थानीय मोहमद जावेद अख्तर बताउँछन् । यता वडा अध्यक्ष मोहमद सुल्तान त्यो कुरालाई ठाडै अस्वीकार गर्छन् ।

आफूले वडागतरुपमा राहत वितरण गर्दै आएको उनले बताए । आफूले राहतमा कुनै राजनीति नगरेको उनले बताए । आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको उनले प्रतिक्रिया दिए ।

तर वडा अध्यक्ष सुल्तानको कुरालाई स्वीकार गर्न तयार छैनन् स्थानीय । आफू राहत वितरण गरिरहेको बेला राहतका लागि वडा कार्यालयमा गएको र राहत माग्दा तैले अर्कै पार्टीलाई मतदान गरेका कारण दिन नमिल्ने प्रतिक्रिया पाएको रामले दुखेसो पोखे ।

गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत र बसोबासको वातावरण मिलाइदिन माग गरेका थिए । त्यसैले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नु पर्ने आवश्यकता देखिएको छ ।lokantar