ताथलीको सौडोलमा सरसफाइ अभियान थालनी

1103

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलमा स्थानीय युवाहरुको सक्रियतामा सरसफाइ अभियानको थालनी भएको छ ।

आफ्नो ठाउँलाई सफा र स्वच्छ बनाउनका लागि ताथलीको प्रगति समूहले सरसफाइ थालेको हो । सरसफाइ नहुँदा विभिन्न स्वास्थ्य संक्रमणको जोखिम बढेपछि युवाहरुले नै अगुवाइ लिएर सरसफाइको आयोजना गरेको आयोजक प्रगति समूह ताथलीका अध्यक्ष हरिसुन्दर छुकांले बताए ।


उनले सफाइअन्तर्गत बुधबार सौडोलस्थित बासुकला टोल, छुकां टोल, माकजु टोल, न्हेमाफूकी टोल, थुयाजु टोल, देवीस्थान टोलमा सफाइ गरेको बताए ।

आफ्नो ठाउँमा सरसफाइको आवश्यकता महसुस गरी समूहको नेतृत्वमा भएको उक्त सरसफाइमा स्थानीय सौडोल कृषि सहकारी संस्थाका प्रतिनीधी, एसएस सदन स्कुलका शिक्षक तथा विद्यार्थीमात्र नभएर भक्तपुरको युवा क्रियाकलाप समाज(सोया)का प्रतिनिधिको पनि सहभागिता रहेको समूहका सचिव जयकृष्ण न्हेमाफूकीले जानकारी दिए ।
उनले सरसफाइबारेमा जनचेतना अभिवृद्धि गर्न सहभागीहरुले फोहोर टिप्ने मात्र नभएर सचेतनामूलक प्लेकार्डसहितको सफाइ र्याली पनि गरिएको बताए ।


सफाइमा सहभागी सोयाका कार्यक्रम संयोजक रवीन्द्र बासुकलाले सफाइलाई महत्वमा राखेर गरिएको सफाइमा सहभागी हुन पाउदा खुसी लागेसँगै अझै पनि सफाइको चेतना आवश्यक भएको औंल्याएका थिए । सोही अवसरमा गत शनिबार भदौ ३ गतेका दिन परीक्षण गरिएको पानीको नतिजा पनि सार्वजनिक गरिएको थियो ।