भन्सार दरबन्दी बढी भयो : व्यापार संघ

367

काठमाडौं । नेपाल व्यापार संघले भन्सार दरबन्दी घटाउन माग गरेको छ ।

भन्सार दरबन्दी बढी हुँदा व्यवसायी मर्कामा परेको र यसले सामग्री बिक्रीमा समस्या आएको संघको भनाइ छ ।

बुधबार राजधानीमा भएको संघको २७औं वार्षिक साधारणसभामा नेपाल विश्व व्यापार संगठनमा गइसकेको अवस्थामा भन्सार दरबन्दी धेरै महँगो भएको जनाइएको हो ।

हालै भारतमा लागू भएको गुड एन्ड सर्भिस ट्याक्स (जीएसटी)लाई नेपाल भन्सारले मान्यता दिएर सोहीअनुसार भन्सारमा विलविजक पेस गर्नुपर्ने भएको छ ।

यसैले भारतमा कपडामा ५ प्रतिशतमात्र जीएसटी कर भएकाले नेपालमा पनि सामानको अवस्था हेरी शून्यदेखि ५ प्रतिशतसम्ममात्र भन्सार दरबन्दी कायम गर्नुपर्ने संघको माग छ ।

चीनसँग जोडिएका नाका रसुवाको स्याफ्रुवेसी, दोलखाको लामाबगर, सिन्धुपाल्चोकको तातोपानी, मुस्ताङको लोमान्थाङलगायतका उत्तरी तथा दक्षिणी नाका खोल्न एवं सहज बनाउन पनि संघले माग गरेको छ ।

यी नाकाहरुलाई सहज गराएमात्र आयात–निर्यातमा सहजता आउने संघको भनाइ छ ।

यस्तै, केरुङसम्मको अस्थायी पास वा मल्टी भिसा नपाउँदा ट्रक व्यवसायी मर्कामा परेको भन्दै यसमा पहलका लागि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।