अख्तियारद्वारा कागजपत्र नियन्त्रणमा , वडाध्यक्ष नै उत्रिए कलेजविरुद्ध

1802

भक्तपुर– गैर नाफामूलक संस्थाका रुपमा चलिरहेको नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष अध्यक्ष लम्बोदर न्यौपानेले निजी कम्पनीका रुपमा दर्ता गराएपछि विद्यार्थी, अभिभावक, स्थानीय र वडाध्यक्षसमेत आन्दोलित भएका छन् भने सो सन्दर्भमा अख्तियारले पनि छानविन थालेको छ ।

अध्यक्ष न्यौपानेले रातारात कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गराएपछि अख्तियारले नेपाल इन्जिनियरिङ कलेज दर्ता लगायतका अन्य कागजपत्र नियन्त्रणमा लिएको छ भने कलेज निजीकरणविरुद्ध स्थानीयहरु आन्दोलित भएका हुन् ।

कलेजका अध्यक्ष लम्बोदर न्यौपाने विरुद्ध सञ्चालक सदस्य हरिप्रसाद पाण्डे र सलिल भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । न्यौपानेले गत वैशाख २५ गते कलेजलाई प्राइभेट लिमिटेड बनाएर कम्पनी रजिष्टारमा दर्ता गराएको निवदेकहरुको आरोप छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहको इन्जिनियरिङ पढाइ हुँदै आएको कलेजलाई सामाजिक संस्थाको हैसियतमा साबिक चाँगुनारायण गाविसले १७४ रोपनी पर्ति जग्गा भोगचलन गर्न दिएको थियो । सो जग्गामा अहिले कलेजले होस्टेल, ल्याब लगायतका पूर्वाधारहरु सञ्चालन गरिरहेको छ ।

यो बाहेक कलेजले ३३ रोपनी जग्गा आफैंले किनेको छ । संस्थाका सदस्यहरुमध्ये हरिप्रसाद पाण्डे र सलिल भट्टराईले सामाजिक संस्थाको डेढ अर्बको सम्पत्ति जोगाइदिन माग गर्दै निवेदन दिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले भने गाविसको जग्गा भोगचलनका लागि सामाजिक संस्थामा दर्ता हुनुपर्ने भएकालेमात्र ०६० सालमा कलेजलाई सामाजिक संस्थाका रुपमा दर्ता गरिएको बताए । उनले विश्वविद्यालयको सम्बन्धनका लागि कम्पनी दर्ता अनिवार्य भएकाले सबै सदस्यहरुको सहमतिमै दर्ता कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरिएको बताए ।

सामाजिक संस्थाका रुपमा सञ्चालित इन्जिनियरिङ कलेजलाई प्राइभेट लिमिटेड बनाइएकोमा विरोध गररेको चाँगुनारायण्न नगरपालिका  वडा नं. १ का अध्यक्ष राजेश खड्का र वडा नं. २ का वडाध्यक्ष शिवहरि केसीले बताए ।edu