दाङ– जग्गामा रहेको मोहियानी हकअनुसार जग्गा माग गर्न सरकारले दिएको एक वर्षे अवधीमा दाङका किसानले १ हजार ३ सय जग्गा धनीसँग आधा जग्गा माग गरेका छन् । जग्गाधनी धेरै भए पनि जग्गा माग गर्ने किसान भने झण्डै ५ सय मात्र रहेका छन् ।
एक जना किसानले २५/२६ जनासँग जग्गा माग गर्दै निवेदन दिएको जिल्ला भुमिसुधार कार्यालयले जनाएको छ । सरकारले २०७३ साल भदौ ६ गतेदेखि २०७४ भदौ ५ गते सम्म मोहि किसानहरुलाई जग्गाधनीबाट आधा जग्गा माग गर्दै निवेदन दिने समय दिएको थियो ।
तर जग्गा धनी र मोही बिच जग्गाको स्वामित्वलाई लिएर भूमिसुधार कार्यालयमा परेका निवेदन २० वर्षदेखि अलपत्र छन् । २०५३ सालदेखिका मुद्दामा किसानले तारेख बोकिरहेका छन् ।
२०६१ साल सम्मका १ हजार ४ सय भन्दा बढी निवेदन पनि पोको पारेर राखिएको छ । किसानले दिएका निवेदनमाथिको कारबाही प्रकृया एक वर्ष भित्र टुँग्याउने सरकारी नीति पूरा गर्न त्यति सहज भने देखिँदैन । कपितय मोहियानी हक दावी गरेका जग्गामा २०/२५ वर्ष पहिले नै घर बनिसकेका र कतिपय ११ हाते घडेरी रहेकाले पनि टुग्ँयाउन समस्या पर्ने देखिएको भूमिसुधार कार्यालयका कर्मचारी बताउँछन् ।
विभिन्न धार्मिक गुठिका जग्गामा पनि किसानको मोहियानी हक रहेको छ । जिल्लाका ६ हजार ८ सय ११ मोहियानी हक भएका किसान मध्ये १४ सय भन्दा बढी गुठिको जग्गामा मोहियानी हक रहेको भुमिसुधारको तथ्यांकमा देखिन्छ । जग्गामा मोहि भरेका धेरै किसानहरु वर्षौं पहिले बसाई सराई गरेर जिल्ला बाहिर गएका कारण पनि जग्गामा रहेको द्वैध स्वामित्व अन्त्य गर्न कठिनाई भैरहेको कार्यालयले जनाएको छ ।
Related