बढेको भन्सार कायमै रहने, बिजुली गाडीको अन्त:शुल्क घट्यो

240

सरकारले चालु वर्षको आर्थिक ऐनबाट बिजुली गाडीमा बढाएको कर केही घटाएको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बिजुली गाडीमा लगाइएको अन्तशुल्क घटाउने निर्णय गरेको हाे। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केही वस्तुमा अन्तशुल्क घटाउने निर्णय भएकाे जानकारी दिए।

सरकारले बिजुली गाडीमा लगाइएको अन्तशुल्क विभिन्न क्षमताअनुसार निर्धारण गरेको थियो।

चालु वर्षको बजेटबाट सरकारले ५० किलोवाट क्षमताको मोटर भएको गाडीमा ३० प्रतिशत, ५० देखि १०० किलोवाट क्षमताकोमा ४० प्रतिशत, १०० देखि १५० किलोवाट क्षमताकोमा ५० प्रतिशत, १५० देखि २०० किलोवाट क्षमताकोमा ६० प्रतिशत, २०० देखि ३०० किलोवाट क्षमताकोमा ७० प्रतिशत र ३०० किलोवाट क्षमताभन्दा माथिका सबै गाडीमा ८० प्रतिशत अन्तशुल्क निर्धारण गरेकाे थियाे।
यी दरहरुमा क्षमताअनुसार घटाइएको छ। स्रोतहरुका अनुसार न्यून क्षमताका बिजुली गाडीमा धेरै प्रतिशत घटाइएको छ भने धेरै क्षमताका गाडीमा न्यून प्रतिशतले घटाइएको छ।

युवराज खतिवडा अर्थमन्त्री हुँदा यसरी बिजुली गाडीमा भन्सार १० प्रतिशतबाट ४० प्रतिशत पुर्‍याइएको थियो भने पहिलोपटक अन्त:शुल्क उच्च दरमा निर्धारण गरिएको थियो। औषत २९ प्रतिशत कर लाग्दै आएको बिजुली गाडीमा खतिवडाले १५० प्रतिशतसम्म पुर्‍याइदिएका थिए।

अन्त:शुल्क घटाए पनि सबै क्षमताका गाडीमा समान दर लागू हुने भन्सार दर भने कायमै छ। सरकारले भन्सार ८० प्रतिशत निर्धारण गरेको छ भने त्यसमा ५० प्रतिशत छुट दिएको छ।
सरकारले बिजुली गाडीमा थपेको नयाँ करबाट २ गुणाले मूल्य बढेको थियो। यसरी मूल्य बढेपछि बजारमा बिक्री नहुने भन्दै व्यवसायीहरुले गाडीको भन्सार पास गराएका थिएनन्।