मेक्सिकोमा ठूलो भूकम्प, सयभन्दा बढीको मृत्यु

353

काठमाडौं । मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको समाचार बीबीसीले दिएको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १०० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको छ ।

बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ मापन गरिएको छ । मारेलस राज्यका गभर्नरले दर्जनौं व्यक्तिहरू मारिएको बताएका छन् । छिमेकी राज्य प्वेबलामा पनि थुप्रै व्यक्तिहरूको मृत्यु भएको समाचारमा बताइएको छ ।

यो भूकम्पबाट राजधानी मेक्सिको सिटीमा ठूलो त्रासको वातावरण छाएको छ । मेक्सिको सिटीका मेयर अनखेल मानसेराले यस भूकम्पबाट सहरका कम्तीमा २० वटा भवनलाई क्षति पुगेको बताएका छन् । मेयरका अनुसार भूकम्पका कारण केही भवनमा आगो लागेको छ र त्यसमा कतिपय व्यक्तिहरू फसेका छन् ।

समाचारमा भूकम्प अत्यन्त तीव्र रहेको र भवनहरू एकदमै हल्लिएको बताइएको छ । भूकम्पका बेला मेक्सिको सिटी वरिपरिको इलाकाका हजारौं व्यक्तिहरू बच्नका लागि सडकमा आएका थिए । भूकम्पमा मरेका व्यक्तिहरूको संख्या बढ्न सक्ने समाचारमा बताइएको छ । संयोग नै मान्नुपर्छ, भूकम्प आउँदाको दिन मेक्सिकोमा भूकम्पकै बारेमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । यहाँ ३२ वर्षअगाडि यस्तै भूकम्प आएको थियो, जसमा हजारौं व्यक्तिहरू मरेका थिए ।