ईन्जिनियरिङ कलेजको विवाद सडकमा

660

काठमाडौं । भक्तपुरको चाँंगुनारायणस्थित नेपाल ईन्जिनियरिङ कलेजको विवाद सडकसम्म पुगेको छ । संयुक्त विद्यार्थी संगठनहरुले बुधबार भक्तपुरको सल्लाघारी चोकको सडकमा नेपाल ईन्जिनियरिङ कलेजको भविष्य विषयक सडक बहस गरेका छन् ।

बहसमा चाँंगुनारायण नगरपालिकाका नवनिर्वाचित प्रमुख सोम मिश्र, एमाले समर्थित अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महत, माओवदी केन्द्र समर्थित अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय महासचिव उतम अधिकारीलगायतले ईन्जिनियरिङ कलेजलाई निजीकरण हुन दिन नहुनेमा विशेष जोड दिए ।

सामाजिक संस्था ऐन अन्तर्गत नाफा नलिने हिसावले गैरनाफामुलक रुपमा सञ्चालित कलेजलाई पछिल्लो पटक सञ्चालक समितिका अध्यक्ष लम्वोदर न्यौपानेले निजीकरण गरी प्राइभेट लिमिटेड बनाएका थिए । यही कारण विद्यार्थी आन्दोलित छन् । यही कारण कलेज बन्दर छ । पढाई अवरुद्ध हुँंदै आएको छ ।

कलेजलाई निजीकरण नगरी गैरनाफामुलक रुपमै सञ्चालन गर्न कार्यकारी अध्यक्ष लम्वोदरले सहमति जनाएका थिए । तर सहमतिको एक हप्ता वितिसक्दासमेत सहमति अनुसार काम नगरेको भन्दै पछिल्लो सयम विद्यार्थी सडकमा पुगेका हुन् । कार्यकारी अध्यक्ष लम्वोदरले एक हप्ता अगाडि भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, भक्तपुर जिल्ला समन्वयन समितिका अध्यक्ष नवराज गेलाल, सञ्चालक समितिका सात जना नै पदाधिकारीको संयुक्त वैठकमा निजीकरण नगरी गैरनाफामुलक रुपमा सञ्चालन गर्न सहमति जनाएका थिए ।