काठमाडौं । नेकपा एमालेले ‘गुण्डा नाइके’ दीपक मनाङ्गेलाई टिकट दिएपछि पार्टीभित्र नेता कार्यकर्तामा असन्तुष्टि बढेको छ । उनीहरुले टिकट फिर्ता गर्न अध्यक्ष केपी शर्मा ओलीसहित नेतृत्वसँग माग गरेका छन् ।
हालै पार्टी प्रवेश गरेका मनाङेलाई एमालेले मनाङ क्षेत्र नम्बर १ बाट प्रदेशसभाको उम्मेदवार बनाएको छ ।
ज्यान मार्ने उद्योगलगायतका मुद्दा खेपेका मनाङ्गे र पूर्वडीआईजी नवराज सिलवाल केही दिनअघि एमालेमा प्रवेश गरेका हुन् । सिलवाल ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्ने भएका छन् । एमालेले नवप्रवेशीहरुलाई चुनावी टिकट दिएपछि लामो समय पार्टीमा संघर्ष गरेका कार्यकर्ता भने निराश भएका छन् ।
लामो समय राप्रपा मनाङको अध्यक्ष भएका मनाङे सिंगो जिल्ला कमिटिसहित एमाले प्रवेश गरेका थिए । स्थानीय निर्वाचन अघि निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदेशसभा सदस्यको उम्मेदवार बनेका मनाङ्गेलाई अब पक्राउ होइन सुरक्षा दिनुपर्नेछ प्रहरीले ।
मनाङ्गे विगतदेखि नै ठमेल क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहंदै आएका छन् । मनाङे पछिल्लो समय जडिबुटी, सुन तस्करीदेखि ठेक्का पट्टामा संलग्न रहेको प्रहरीको रेकर्ड उल्लेख छ ।
युवा कार्यकर्ता अनमोल अविनाशले यसरी असन्तुष्टि पोखेका छन्
जय होस् नेकपा(एमाले)मनाङ्गको ! बधाई छ कमरेड मनाङ्गेलाई !
अग्रज र जिम्मेवार कमरेडहरू, लालसलाम !
मनाङ्गेको नाम तुरुन्त भन्दा तुरुन्त फिर्ता गरियोस् । आज पार्टी प्रवेश गराएर भोलि टिकट दिने प्रवृत्तिको अन्त गरियोस् । पार्टी र संघठन भनेर जेल र नेल भोग्ने, रातोदिन ज.ब.ज. घोटेर साँघठनिक सम्रचणा दर्बिलो बनाउँदै पाँखा, पँखेरा, ऊकाली, ओराली धाउने कमरेडहरूको योगदानको अवमुल्यन गरिने परम्परागत संस्कारको घोर विरोध गर्दछु । युवा भनेको जोशीलो, जाँगरीलो, रहर लाग्दो, भर लाग्दो र समय अनुसार डर लाग्दो हुनुपर्छ तर सामाजिक अपराधमा मुच्छिएको चाहिँ पटक्कै हुनु हुँदैन । मनाङ्गेलाई हामीले ज.ब.ज.को सिपाही बनेर मतदाता बन्छन् भनेर मात्र स्वागत गरेका हौँ , जनप्रतिनिधि बनाउन पटक्कै होइन। अहिले तत्काल मनाङ्गेलाई टिकट नदिई नहुने त्यस्तो खास परिस्थिति बनेको झैँ मलाई लाग्दैन । यसर्थ पनि पार्टीका जिम्मेवार कमरेडहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनेमा विस्वस्त छु ।