एमाले, माओवादी वाम गठबन्धनमा गडबड भएको छ । वामगठबन्धको सहकार्य तोड्दै नयाँ शक्ति, नेपाल आँखा चिन्ह लिएर प्रतिनिधि र प्रदेशसभाको चुनावमा सहभागी हुने भएको छ। शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले एमाले र माओवादी सहमतिको मर्म विपरित अघि बढेको भन्दै गठबन्धन सँगको सहकार्य तोड्ने निर्णय गरेको हो।
‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेकोप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’, सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने उल्लेख छ।
सँगै नयाँ शक्तिले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता(छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णयमा उल्लेख छ।