भाईटीकामा पनि बाग्मती सफाइ

353

काठमाडौँ: तिहारको मुख्य दिन कात्तिक ४ गते शनिबार पनि वाग्मती सफाइ महाअभियानको कार्यक्रमले निरन्तरता पाएको छ।महाअभियानले भाइटीकाका दिन पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गर्ने अभियानकर्मी एवम् नेपाल विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले बताए।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ शनिबारदेखि नै २३२ हप्ता पार गर्दै छ। विसं २०७० जेठ ४ गते विज्ञापन संघ र नेपाल चलचित्र संघबीच सफाइका लागि सहयोग जुटाउने एवम् प्रचारप्रसार गर्ने उद्देश्यले भकुण्डो भीडन्तको नारासहित मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा एस ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन धरेलले सफाइ महाअभियानकै लागि रु चार लाख सहयोग गर्नुभएको उनले बताए। अन्य प्रायोजकबाट समेत गरी जम्मा रु १० लाखले शुरु गरिएको सफाइ महाअभियानले अहिले देशव्यापी सफाइ अभियानको रुप ग्रहण गरेको छ।

सफाइका लागि हाल कसैसँग पैसा उठाइँदैन। आवश्यक पर्ने सामग्री सहयोगी संस्थाले दिँदै आएका छन्। सफाइमा स्वयंसेवी भावनाका मानिस सहभागी हुने गरेका छन्। वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशका ३५ भन्दा बढी स्थानमा नदी एवम् शहर सफाइ भइरहेको छ।

निजी क्षेत्रका अभियानकर्मीले शुरु गरेको अभियानको नेतृत्व तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले लिएपछि सफाइ अभियानमा जनसहभागिता जुटेको थियो।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाल टेलिकम, मुक्तिनाथ विकास बैंक, एस ट्राभल्स लगायतका संस्थाको निरन्तर सहभागिता छ।

सफाइ अभियानमा कुनै समिति छैन। हाल कुनै पनि आर्थिक कारोबार नगरिने र कुनै राजनीतिक तुल वा झण्डा लिएर प्रवेश गर्न नदिइने अभियानकर्मी श्रेष्ठले जानकारी दिए। यसअघि विजयादशीका दिन शनिबार परे पनिसफाइ अभियानलाई निरन्तरता दिइएको थियो।

अभियान शुरु भएपछि हालसम्म कुनै पनि शनिबार सफाइ नटुटेको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए।