काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभाका लागि वाम गठबन्धनले तयार पारेको घोषणापत्र एक साता मै फेरिएको छ।
एक साताअघि अनौपचारिक रुपमा सार्वजनिक भएको घोषणापत्र मंगलबार औपचारिक रुपमा सार्वजनिक हुँदा विभिन्न विषयमा फेरबदल देखिएको छ।
यसअघिको घोषणापत्रमा विभिन्न राजनीतिक दलहरुप्रति फरक–फरक दृष्टिकोण राखिएको थियो। तर मंगलबारको घोषणापत्रमा अन्य राजनीतिक पार्टीहरुप्रति हाम्रो दृष्टिकोण शीर्षकमा नेपाली कांग्रेसको नाममात्र किटिएको छ। अरु पार्टीहरुको नामसमेत उल्लेख छैन।
आज सार्वजनिक गरिएको घोषणापत्र
यसअघिको घोषणापत्रमा कांग्रेससहित मधेशवादी दलको आलोचना गरिएको थियो जसमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालप्रति वाम गठबन्धन आक्रामक थियो। राजपालाई अत्मसर्मणवादी र विदेशीको दलाल भएको आरोप लगाइएको थियो।
तर अर्को मधेशकेन्द्रित दल संघीय समाजवादी फोरम नेपालप्रति नरम थियो। फोरमलाई परिवर्तनकारी एवं गतिविधिका आधारमा मूल्यांकन गर्न सकिने भन्दै प्रशंसासमेत गरिएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ढुलमुले प्रवृत्तिको पार्टी भनेर चित्रण गरिएको थियो। अन्य कम्युनिस्ट पार्टीहरुलाई जडसूत्रवादी भनी व्याख्या गरिएको थियो।
पुरानो घोषणापत्र
अघिल्लो घोषणापत्रमा वाम गठबन्धनले संविधान संशोधनको विषयलाई विरोध गर्ने मनसाय देखिन्थ्यो।
पुरानो घोषणापत्र।
नयाँ घोषणापत्रमा शब्द हेरफेर गरी मनसाय त्यस्तो नदेखिने बनाइृएको छ।
तर मंगलबार सार्वजनिक भएको घोषणापत्रमा संविधान संशोधनको विषयमा नरम देखिएको छ। संविधान संशोधनका लागि वैधानिक बाटो खोलेको उल्लेख गरिएको छ।
घोषणापत्र परिवर्तनका विषयमा एमाले नेता भीमप्रसाद रावलले पहिलोपोस्टसँग भने,‘घोषणापत्र परिमार्जन गरिएको छ। पहिले सार्वजनिक भएको घोषणापत्र अपूरो थियो। अहिले केही विषयहरु थपघट भएको छ।’
रावलले राजनीतिक दलहरुप्रति दृष्टिकोणमा आएको फरकका विषयमा बताउन चाहेनन्।
यसअघिको घोषणापत्रमा संविधान संशोधनको विषयमा वाम गठबन्धन नकारात्मक देखिएको भन्दै माओवादी केन्द्रका नेताहरुले नै विरोध गरेका थिए। माओवादी नेता मातृकाप्रसाद यादवले संविधान संशोधनको विषय समावेश नगरेकोले मधेशी जनता झनै रुष्ट हुन सक्ने बताएका थिए।