गठबन्धन एमालेका लागि आत्मघाती हुन्छ : साउद

373

भीमदत्तनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वाम गठबन्धन नेकपा एमालेका लागि आत्मघाती हुने बताएका छन् ।

नेपाली कांग्रेस कञ्चनपुरले भीमदत्त नगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उनले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको दाबी गरे ।

“एमाले र माओवादी केन्द्रले कांग्रेससित डराएर गठबन्धन गरी निर्वाचनमा भाग लिए । दुई कमजोर मिले पनि बलियोलाई हराउन सक्दैनन्,” उनले भने ।
एमालेलाई माओवादी केन्द्रले भोट दिएर ठूलो पार्टी बनाए माओवादी केन्द्रको अस्तित्व समाप्त हुने उनले बताए ।

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले आसन्न निर्वाचनमा कांग्रेस हारे राष्ट्रिय एजेण्डा हार्ने बताउँदै संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न सबैमा आग्रह गरे ।