भक्तपुर — पूर्खाले सिर्जेको सम्पति, हाम्रो कला र संस्कृतिलाई सार्थक पार्न भक्तपुर नगर पालिकाद्धारा शनिवार आयोजित भक्तपुर नगर व्यापी बाँसुरी बाजा प्रतियोगितामा नगांचा बाँसुरी बाजा समूह प्रथम हुन सफल भएको छ ।
जम्मा एकाइस वटा समूहले सहभागीता जनाएको उक्त प्रतियोगिता दुधपाटीबाट प्रारम्भ भई बंशगोपाल, टौमढी, गोल्मढी हुँदै दतात्रयमा समापन भएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल मजदुर किसान पार्टीको अध्यक्ष नारायणमान विजुक्छेंले हाम्रो बाजागाजा जनताको कौशल भएको स्पष्ट पारेका छन् । उहाँले नयाँ पुस्तामा कौशलता हस्तान्तरण गर्न यस्तो कार्यक्रमको महत्व बढ्दै जाने भएकोले नगरपालिकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो । भक्तपुरको बाँसुरी बाजाको अन्य ठाउँमा ठूलै महत्व रहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला र संस्कृति बचाउन नयाँ पुस्तालाई बाजागाजा सिकाउँदै जानुपर्नेमा जोड दिँदै पार्टीको घोषणापत्र अनुसार नै यस्तो प्रतियोगिता गर्दै पर्यटकीय गन्तब्यस्थल बनाउन लागेको बताउनुभयो । उहाँले यस्तो कार्यक्रम नगरे पछिका पुस्ता झन पछि पर्ने बनाउनुभयो ।
उपप्रमुख रजनी जोशीले नाचगानको शहर भक्तपुर सार्थक बनाउँदै नयाँ पुस्तामा पुनताजकीकरण गर्न यस कार्यक्रमको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । उहाँले नयाँ कला र संस्कृतिलाई व्यवसायिकीकरण गर्दै लानुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगर कार्यपालिकाका सदस्य छोरीमाया सुजखुले स्वागत गरेको उक्त कार्यक्रममा प्रस्तुती भएका प्रत्येक समूहलाई टौमढी र दतात्रयमा छुट्टा छुट्टै मूल्यांकन गरी सोही दिनमा मूल्यांकन समिति संयोजक एवं भक्तपु न.पा. ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले पुरस्कृत समूहको नतिजा घोषणा गरेका छन् ।
जसमा द्धितीय भक्तपुर म्युजिकल सर्कल, तृतीय पासा पुचः समूह, सान्त्वना श्री कविलास नित्यनाथ बाँसुरी बाजा समूह र चोर्चा बाँसुरी बाजा समूह परेका छन् । पुरस्कृतहरुलाई प्रमुख अतिथि विजुक्छेँबाट पुरस्कार प्रदान गरेको उक्त कार्यक्रममा प्रत्येक सहभागी समूहहरुलाई मादल र बाँसुरीका साथ प्रमाणपत्र वितरण गरेको थियो । प्रथमलाई रु.५० हजार, द्धितीयलाई ४० हजार, तृतीयलाई ३० हजार र सान्त्वनालाई २० हजारको नगद पुरस्कार प्रदान गरेको थियो । साथै मूल्यांकन समितिका आठै जना मूल्यांकनकर्तालाई मायाको चिन्ह प्रदान गरेको उक्त कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।