‘नेमकिपा जित्नु भनेको जनताले जित्नु हो’ : बिजुक्छें

486

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले नेपाल मजदुर किसान पार्टी जित्नुलाई जनताकै जीत हुने बताएका छन् ।
आसन्न प्रतिनीधिसभ र प्रदेससभाको माहोल बढेसँगै शनिबार चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली पुगेका अध्यक्ष बिजुक्छेंले सो कुरा बताएका हुन् । उनले नेपाल मजदुर किसान पार्टीले देश र जनताको पक्षमा सँधै सडक र सदनबाट वकालत गरी जनतालाई सुसूचित बनाउने काम गरिरहेको जानकारी दिँदै नेपाली काँग्रेस, एमाले र माओवादीका नेताहरु भने सत्तालिप्सामै केन्द्रीत रहेको बताए ।
‘अहिले चुनाव जित्नका लागि कम्युनिष्ट नामधारी एमाले र माओवादीबीच गठबन्धन भएको छ, त्यस्तै नेपाली काँग्रेस र राप्रपाबीच तालमेल भएको छ, तिनीहरुले कुनै पनि अवस्थामा जनताको हित गर्दैनन्, तिनीहरुले गुण्डा नाइके, तस्कर, घूसखोरीलाई पालेका छन्, तिनीहरुले देशको हित हुन्न, यसैले तिनीहरुलाई जिताएर जनताको हित हून्न ।’ उनले भने । अध्यक्ष बिजुक्छेंले सत्तामा जानका लागि राजनीतिमा लागेका दलहरुका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उलंघन गरी मतदातालाई भ्रमममा पारिरहेको पनि बताए ।
कथित ठूला पार्टीहरुले आरोप लगाएजस्तै गरी नभई नेमकिपा विचारका दृष्टिले बलियो पार्टी भएको बताउँदै अध्यक्ष बिजुक्छेंले सत्तामा गएका दलकै कारण विकासमा अवरोध सिर्जना भएको, भ्रष्टाचार बढेकोले ती दलहरुलाई पाखा लगाउन जरुरी रहेको बताए । नेपाल मजदुर किसान पार्टीले सदनमा सँधै प्रतिपक्षीको भूमिका खेलेर प्रजातन्त्रको सुन्दरता कायम गरेको उनको भनाइ छ ।
जनसभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले जनताको पक्षमा नीति बनाउनका लागि आफू र पार्टी प्रतिवद्ध रहेको बताउँदै भारतीय विस्तारवादलाई परास्त गर्नका लागि नेमकिपालाई जिताउन अनुरोध गरेका थिए ।
प्रदेशसभाका उम्मेदवार निरज लवजूले मतदाताले निक्कै सोच विचार गरी, कोहीको धम्कीमा नपरी, लोभमा नपरी मतदान गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । उनले नेपाल मजदुर किसान पार्टीले चुनावलाई जनताको सेवा गर्ने अवसरको रुपमा उपयोग गरेकोले आफू जनताको सिपाही भएर जनताकै पक्षमा लड्ने प्रतिवद्धता जनाउँदै भ्रष्टाचारमुक्त प्रदेश बनाउनका लागि आफू लाग्ने बताए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउनका लागि आफू लागिरहेको तर एमालेबाट चुनिएका मेयर, उपमेयर भने उक्त प्रस्तावप्रति सहमत नभएको बताउँदै नगरपालिकाभित्र विभिन्न अनियमितता भएको जानकारी दिए ।
ताथलीको खर्क पुलमा आयोजित चुनावी जनसभाअघि फैढोकाबाट चुनावी र्याली गरिएको थियो । कार्यक्रममा पार्टीका तर्फबाट नारायणभक्त न्हेमाफूकी, एकबहादुर खत्री, रामचन्द्र बासी र हरिसुन्दर छुकांलगायतले मादल चिह्नमा मतदान गर्न अनुरोध गरेका थिए ।