बलराम प्यासी
काठमाडौं ।
अपांगता भएका महिलाहरुको मानव अधिकारको लागि विगत २२ वर्षदेखि सकृय रहेकी मानव अधिकारकर्मी रमा ढकाललाई यो वर्षको ‘शान्तालक्ष्मी मानव अधिकार वर्ष पुरस्कार २०७४’ प्रदान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार राजधानीमा आयोजित नवौं मानव अधिकार राष्ट्रिय भेलाका अवसरमा १५ हजार नगद राशी र ताम्रपत्रसहितको सो वर्ष पुरस्कार अधिकारकर्मी ढकाललाई प्रदान गरीन ।
राष्ट्रिय शारिरीक अपांग संघ नेपाल (एनएपिडि) संस्थाकी संस्थापक अध्यक्ष एवम् हाल सो संस्थाको कार्यक्रम संयोजक रहेकी मानव अधिकारकर्मी ढकालले अपांगता भएका महिलाहरुको हक अधिकारको लागि काम गर्दै आएकी छिन् ।
बियोण्ड बेइजिंग समितिकी सदस्य एवम अधिकारकर्मी शान्तालक्ष्मी श्रेष्ठद्वारा स्थापित सो पुरस्कार हरेक वर्षको मानव अधिकार दिवसको अवसरमा मानवअधिकारको क्षेत्रमा विशिष्ट योगदान गर्ने एकजना महिला अधिकारकर्मीलाई प्रदान गरिँदै आएको छ ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले एकल महिलाको अधिकारको लागि कार्यरत अधिकारकर्मी वेद अवस्थी र गोमा वस्याललाई ‘संकल्प शान्ति संवाहक पुरस्कार’ प्रदान गरिन । ती दुवै अधिकारकर्मीलाई जनही नगद १२ हजार ५०० तथा ताम्रपत्र प्रदान गरिएको थियो ।
महिला, वालवालिका तथा अपांगता भएका व्यक्तिहरुको लागि काम गर्दै आएका ११ वटा महिलाहरुको सञ्जाल ‘संकल्प’द्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले सो सम्मान प्रदान गरेकी थिइन ।
कार्यक्तममा बोल्दै राष्ट्रपति भण्डारीले मानवअधिकारका क्षेत्रमा उपलब्धि हुँदाहुँदै पनि मानव अधिकार उल्लंघनका घटना अझैपनि भईरहेकोप्रति गुनासो व्यक्त गरीन । उनले विभेद र वहिष्कारमा परेकाहरुको उत्थान गर्दै नीहरुलाई आर्थिक विकास र सम्वृद्धिमा ल्याउन सके मानवअधिकारको संरक्षण हुनेपनि बताइन ।
त्यस अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, मानवअधिकारवादी, चाँदनी शाह, चरण प्रसाई, गैरसरकारी संस्थाका अधयक्ष गोपाल लम्साल तथा संकल्प संस्थाकी अध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष लिली थापालगायतले बोलेका थिए ।