मोटोपनाका कारण लाग्ने रोगहरु

387

पहिले-पहिले मोटाउनुलाई निकै गर्वको विषय मानिन्थ्यो। अहिले मोटाउनु मानिसका लागि अभिसाप बन्न थालेको छ। निरन्तर मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ। मोटोपना भनेको शरीरको तौल बढ्ने हो। नेपालीमा मोटोपना विशेष गरेर शरीरभरि भन्दा पनि पेटमा बढेको देखिन्छ। अव्यवस्थित जीवनशैली र खानपानको उपहार हो मोटोपना र पेटको बोसो। अस्वस्थ जीवनशैली र खानपानले कयौं प्राणघातक रोग निम्त्याउन सक्छ।

मोटोपनाका कारण लाग्ने रोगहरु 

१. उच्च रक्तचाप (हाइ ब्लडप्रेसर),

२. हृदयघात (हार्ट अट्याक),

३. मधुमेह (डाइबेटिज),

४. कलेजोमा बोसो (फ्याटी लिबर),

५. मस्तिष्कघात (ब्रेन ह्यामरेज),

६. घुर्ने वा निद्रामा सास रोकिने समस्या,

७. दम, आदि।

यी सबै रोग आजभोलि एकदमै बढ्दै गइरहेको छ। यी सबै रोग मानिसको आल्पायुमै हुने मृत्युको प्रमुख कारण बन्न गएका छन्। मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरूले गम्भीर रोगका रूपमा लिन थालेका छन्।

मोटोपनाको मापन 

१. पेट बढेर आउने।

२. लगाइरहेको कपडा सानो वा टाइट हुने।

३. कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९०  सेन्टिमिटर (३५.५ इन्च) भन्दा धेरै हुने।

४. शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसतभन्दा बढी तौल हुने । बिएमआई (तौल र उचाइको सूचक) २५ भन्दा बढी हुनुलाई मोटोपनाका रूपमा लिइन्छ। शरीरको तौल केजीलाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक (केजी/सेन्टिमिटर२) नै बिएमआई हो। बिएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ। २५ देखि २९.९ भनेको बढी वजन हो। ३० देखि ३४.९ हुनु मोटोपना ग्रेड–१, ३५ देखि ३९.९ हुनु ग्रेड–२ वा अत्यधिक मोटोपना। ४० भन्दाबढी बिएमआई हुनु भनेको माथि उल्लेखित र अन्य प्राणघातक रोगहरू लाग्ने सम्भावना अधिक हुनु हो।

मोटोपना हुने कारण

१. अस्वस्थ खानपान– बढी चिल्लो र बोसोयुक्त खानपिन।

२. विलाशी जीवनशैली।

३. शारीरिक व्यायाममा कमी।

४. धूमपान र मध्यपान सेवन।

५. रगतमा नराम्रो बोसो (कोलेस्टेरोल) को मात्र बढ्नु।

६. थाइरोइड जस्ता रोग लागेको अवस्था।

७. लामो समयसम्म औषधिको प्रयोग (डिप्रेसनमा, लामो समयदेखि दम, जोर्नीको दुखाइमा प्रयोग हुने स्टेरोएड, महिलाले खाने चक्की, संगिनी सुइ आदि)।

मोटोपना घटाउन कस्तो खानपान र जीवनशैली अपनाउने?

•    प्रशस्त मात्रामा पानी पिउने।

•    धेरैपटक तर थोरै-थोरै खाने।

•    भरसक बढी तेल भएको, प्याकेटको, फ्राई खाना नखाने।

•    गुलियो खानेकुरा कम खाने। चक्लेट, गुलियो पेय पदार्थ (कोक, फेन्टा आदि) र चिल्लो खानेकुरा नखाने। यस्ता खानेकुराले शरीरको पेट र तिघ्रामा बोसो जम्मा हुने गर्छ।

•    सागसब्जी र फलफूलमा बढी जोड दिने। दैनिक बिहान र बेलुका केही फलफूल खाने। सकेसम्म नियमित सलाद (गाँजर, काँक्रा, मुला आदि) खाने। यसले शरीरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ति गरिदिन्छ।

•    बेलुकी खाना खाइसकेपछि कम्तीमा सय कदम हिँड्ने।

•    सकेसम्म सुत्नुअघि २-३ घन्टा पहिले नै खाना खाने।

•    हामी बिहान-बेलुका भात खाने गर्छौं, जसमा कर्बोहाइड्रेटको मात्र अधिक हुन्छ। त्यसैले भात कम गर्ने। खानामा सागसब्जी, सलादलाई प्राथमिकता दिने।

•    मध्यपान तथा चुरोट र सुर्तीजन्य पदर्थको सेवन नगर्ने।

•    नियमित व्यायाम गर्ने। बिहान सबेरै छिटो-छिटो हिँड्ने, दौडने, नाच्ने, उफ्रने, साइकल चलाउने वा फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, टेनिस, स्किपिङ जस्ता खेल खेल्ने। यस्ता गतिविधिले २ सयदेखि ३ सय क्यालोरी ऊर्जा खर्च हुन्छ।

•    खानामा सन्तुलन नमिलाउने हो भने, मोटोपना घटाउन व्यायाम मात्रले सफल नहुन पनि सक्छ । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको हुँदैन । शरीरको बोसोभन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ ।

कुनै-कुनै रोग लागेको अवस्थामा चिकित्सकले वजन घटोस् भनेर औषधि पनि दिन सक्छन्। तर, चिकित्सकको सल्लाहबिना यस्त औषधि प्रयोग गर्नु हुँदैन। जबसम्म तपाईंले खानाको मात्रामा कमी ल्याउनु हुन्न औषधिले केही गर्न सक्दैन। यदि, तपाईं अति नै मोटो हुनुहुन्छ र मोटोपनाका कारण अन्य रोग वा कडा प्रकारका रोग देखिएको छ भने शल्यक्रियाबाट पनि तौल घटाउन सकिन्छ।