साँखु : काठमाडौंको साँखुस्थित शाली नदीमा हुने एक महिने कठिन माधवनारायणको श्रीस्वस्थानी व्रतको सम्पूर्ण तयारी पूरा भएको छ। श्रीस्वस्थानी व्रत र शाली नदी क्षेत्रको व्यवस्थापन गर्दै आएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले श्रीस्वस्थानी व्रतको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले व्रतालुले दैनिक स्नान गर्ने शाली नदीमा पोखरी निर्माणदेखि शाली नदीसम्म पुग्ने बाटोमा सरसफाइ, शान्ति सुरक्षालगायतको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
यस वर्ष मंगलबारदेखि एक महिने श्रीस्वस्थानी व्रत सुरु हुँदै छ। व्रत बस्ने व्रतालु भने सोमबार नै साँखु पुगेर आफू बस्ने ठाउँको बन्दोबस्त गरी माधवनारायणको मन्दिरमा जल चढाउने उनी बताउँछन्।
यस वर्ष करिब तीन सय जनाले श्रीस्वस्थानी व्रत बस्ने तयारी भइरहेको उनले जानकारी दिए। उनका अनुसार यसवर्ष व्रतालुहरुको सुविधाको लागि उनीहरु बस्ने जग्यभित्र टायल बिछ्याइएको छ। ‘त्यस्तै एक महिने व्रतको क्रममा बिहानै स्नान गरेका व्रतालुहरुलाई न्यानोको लागि यस वर्ष पर्याप्त काठको व्यवस्था गरिसकेका छौं’, करिब तीन दसकदेखि श्रीस्वस्थानी व्रतको व्यवस्थापनमा जुट्दै आएका सिंहले भने।
एक महिने श्रीस्वस्थानी व्रतको अवधिमा करिब ३० लाख भक्तजन शाली नदीमा मेला भर्न पुग्ने अनुमान गरिएको छ। गत वर्ष करिब २२ लाख भक्तजन शाली नदीमा मेला भर्न आएको समितिले जनाएको छ।
समितिका अनुसार व्रत अवधिभर साँखुमा स्वास्थ्य शिविर, दैनिक बजार तथा सवारी भाडाको अनुगमन गरिने संयन्त्र निर्माण गरिएको छ।
यस वर्ष पनि शाली नदी पुग्ने भक्तजनहरुको सुविधाको लागि पर्याप्त सार्वजनिक बसको व्यवस्था गरिने साँखु बस व्यवसायी संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार काठमाडौं र ललितपुरका तीनवटा रुटबाट साँखु पुग्न सकिन्छ। यी तीनवटै रुटमा पर्याप्त सवारीसाधनको व्यवस्था गरिने उनले सुनाए।
‘व्रत अवधिभर बेलुका ९ बजेसम्म पनि साँखुबाट काठमाडौंमा गाडी चल्ने व्यवस्था गर्ने भएका छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘यसका लागि संघका गाडी अपर्याप्त भए अरु समितिका गाडीसमेत मगाउँछौं।’
संघका अनुसार साँखु पुग्ने भक्तजनहरुको सुविधाको लागि दैनिक एकसय पचास वटाभन्दा बढी यात्रु बस गुड्ने व्यवस्था गरिएको छ।
काठमाडौंबाट साँखु पुग्ने सडक अहिले २२ मिटर फराकिलो बनाउने काम भइरहेकाले पहिले जस्तो सवारी जाम नहुने विश्वास समितिको छ।