६२ विद्यावारिधि सहित ८ हजार २६७ दिक्षित

283

काठमाडौं । नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट यो वर्ष ८ हजार २ सय ६७ जनाले स्नातकदेखि पिएचडिसम्म उतिर्ण गरी दिक्षित भएका छन् ।

उतिर्ण विद्यार्थीहरुले भने दिक्षान्त समारोहलाई ‘कालो गाउन लगाएर टोपी उडाउने दिनको रुपमा’ लिने गरेका छन् ।

विभिन्न विषयमा विद्यावारिधी गरेका ६२ जना र स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधिसमेतमा उत्कृष्ट अंक ल्याएका ३१ जनालाई दिक्षान्त समारोहमा पदक तथा पुरस्कार वितरण गरिएको थियो ।

भारतको प्रशिद्ध जवाहरलाल नेहरु विश्वविद्यालयका उपकूलपति प्रा.डा.एम जगदिश कुमारको प्रमुख आतिथ्यमा पुल्चोकस्थित इन्जिनियरिंग क्याम्पसको खेलमैदानमा भएको दिक्षान्त समारोहमा २०७३ असारदेखि २०७४ जेठसम्म कानुन, वाणिज्य, जनप्रशासन, विज्ञान, मानविकी संकायतर्फ स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गर्ने विद्यार्थी दिक्षित भएका थिए ।

मुलुकभर त्रिभुवन विश्वविद्यालयको ६० वटा आंगिक र १ हजार ८५ वटा सम्वन्धन प्राप्त क्याम्पस सञ्चालनमा रहेको छ ।

दिक्षान्त कार्यक्रमलाई समवोधन गर्दै प्रा.डा.जगदिश कुमारले आइतबार दिक्षित भएका विद्यार्थीले संसारको जुनसुकै ठाउँमा गएतापनि आफुलाई अव्वल र योग्य रहेको प्रमाणित गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका कूलपति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले उच्च शिक्षा सर्वसुलभ बनाउन सरकारले पहल गरिराखेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा दिनु त्रिभुवन विश्वविद्यालयको लागि चुनौतिपूर्ण काम रहेको बताए ।

उनले दिक्षित भएका जनशक्तिलाई आआफ्नो ठाउँबाट देश विकासमा कटिवद्ध रहन आग्रह गरे ।

त्रिविविका सहकूलपति एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले वदलिँदो विश्व परिवेश सुहाँउदो प्राविधिक शिक्षा आजको आवश्यकता भएकोले वर्तमान शिक्षा प्रणालीमा समयसापेक्ष सुधार गर्नका लागि सबै एकजूट हुनु आवश्यका रहेको औंल्याए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा.डा.तिर्थराज खनियाले ५८ वर्षे उच्च शिक्षाको इतिहासमा त्रिविविले उच्च शैक्षिक जनशक्ति उत्पादन गर्न गरेको योगदान चुनौतिपुर्ण रहेको बताए ।