सम्धी–सम्धिनी भित्रिएपछि राजपा टुक्रिने

281

काठमाडौं । संविधान संशोधनको एजेन्डा देखाएर प्रदेश नम्बर २ मा विजयी हासिल गरेको मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरको पारिवारिक मोहलाई लिएर अहिले व्यापक टीकाटिप्पणी हुन थालेको छ । उनको मात्र कारण होइन, अन्य नेताको पनि यस्तै व्यवहारले बन्दा नबन्दैको राजपाले टुक्रने आधार तयार गरेको छ । समझदार, त्यागी, राजनीतिक व्यक्तित्वकोे रूपमा प्रचारित राजपा संयोजक ठाकुरले पुनः आफ्ना सम्धी उमाकान्त झालाई प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि उनको पारिवारिक मोह बाहिर आएको छ । सम्धी र सम्धिनीका लागि ज्यान फाल्ने उनको हर्कतको अहिले चौतर्फी विरोध भइरहेको छ  ।
सम्धिनी इन्द्रा झालाई प्रतिनिधिसभाका लागि समानुपातिकतर्पmको सूचीको तेस्रो नम्बरमा राखेर निर्वाचन आयोगलाई बुझाइएको छ । ठाकुरले सम्धी उमाकान्तलाई २ नम्बर प्रदेश प्रमुखका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिका आधारमा प्रदेश प्रमुख तोक्ने प्रयास जारी राख्ने क्रममा राजपाबाट नाम सिफारिस गर्न अनुरोध गरेपछि राजपा अध्यक्ष मण्डलको संयोजक ठाकुरले सम्धी उमाकान्तकोे नाम बुझाएका हुन् । ठाकुरले भनेअनुसार भएमा सम्धी प्रदेश प्रमुख र सम्धिनी प्रतिनिधिसभा सांसद हुनेछिन् । उमाकान्त र इन्द्रा झा महन्थकी छोरीका सासू ससुरा हुन् ।
ठाकुरले सम्धी सम्धिनीका लागि मरिहत्ते गरेको यो पहिलो पटक भने होइन । संविधानको सामान्य सिद्धान्तलाई उल्लंघन गरी तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउँदा ठाकुरले सम्धी झालाई सिँचाइमन्त्री बनाएका थिए । उनी नेपाल सरकारको सचिवबाट रिटायर्ड भएका व्यक्ति हुन् । यसअघि सम्धिनी झालाई सांसद र सम्धी झालाई पार्टीको महामन्त्रीसमेत बनाउन सफल भएका थिए । सम्धी झालाई तत्कालीन तमलोपाका महामन्त्री बनाउँदा ठाकुरले पार्टी विधान नै मिचेका थिए । सम्धिनी इन्द्रालाई दोस्रो संविधानसभाको सांसद बनाएका थिए ।
राप्रपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले पनि श्रीमती डा.डिम्पलकुमारी झालाई संसद्मा छिराउन सफल भएका छन् । प्रदेश नम्बर २ को प्रादेशिक सरकारका लागि अध्यक्ष झाले श्रीमतीलाई समानुपातिकतर्फबाट सांसद बनाउनुपर्ने भन्दै निर्वाचन आयोगमा सूची बुझाएका छन् ।

उपेन्द्रको प्रदेश प्रमुख रत्नेश्वर कायस्थ
प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखका लागि नाम सिफारिस गर्न अनुरोध गरेअनुसार संघीय समाजवादी फोरम नेपालले पुराना नेता रत्नेश्वरलाल कायस्थको नाम सिफारिस गरेको छ । हाल प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको बन्दसूचीको पहिलो नम्बरमा रहेका कायस्थलाई अध्यक्ष उपेन्द्र यादवले प्रदेश प्रमुखका लागि नाम सिफारिस गरेका हुन् । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख तोक्ने घोषणा गरिसके पनि अन्तिममा दलीय सहमतिका लागि केही दिन सो प्रस्ताव स्थगित गरेका थिए । तरुणमा खबर छ । प्रधानमन्त्री देउवा दलीय सहमतिमै प्रदेश प्रमुख तोक्ने मनस्थितिमा छन् ।