भक्तपुर । भक्तपुर नगरभित्र आकर्षणको केन्द्रको रुपमा रहेको गोल्डेन गेट संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट) मा रहेको कलात्मक मूर्ति सम्बन्धित निकायको उदासिनताले कुरुप बन्दै गेटको अस्तित्वनै धरापमा परेको हो ।
मूर्तिमा भक्तजनले पूजा गर्ने क्रममा अबिर केसरी तेल लगाएतका सामग्री लगाउँदा मूर्ति खिइएर प्वाल परेपछि मूर्ति कुरुप हुँदै गएको हो ।
गोल्डेन गेटको दायाँबायाँ रहेको कलात्मक मूर्तिले ढोकाको सुन्दरता झल्काउने गरेका छन् तर भक्तजनले आस्थाले नै उक्त मुत्र्तिहरु छुँदा र पुजा अर्चना गर्दा यसको अस्तित्व धरापमा परेको हो ।
ढोकाको दायाँबायाँ रहेको भैरव र कालीको मूर्तिमा प्वाल परेसँगै गोल्डेन गेटको सुन्दरतामा कमी आउन थालेको छ । ढोकाको दायाँबायाँ गणेश, कुमार, तलेजुलगायतका देवीदेवताको मूर्ति रहेका छन् ।
मल्लकालीन समयमा निर्माण भएको गोल्डेन गेट सुनको ढोका नेपालकै नमूना धरोहरका रुपमा रहेको छ ।विश्वमा रसायन सास्त्रले कुनै एक धातुमा अर्को धातुको लेपन गर्न मिल्छ भन्ने पत्ता लाग्नु पहिला नै बनेको सुनको ढोका हाल आफ्नो अस्तित्वको रक्षाका लागि दिन कुरी रहेको छ ।
एक सय वर्ष भन्दा बढी समय लगाएर रसायन सास्त्रलाई नयाँ बाटो देखाउँदै बनाएको गोल्डेन गेट विश्व प्रसिद्ध धरोहरका रुपमा रहेको छ ।
यो गेट मल्ल राजा जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल र रणजीत मल्ल गरी चार पुस्ता लगाएर बनाएको संस्कृतिकर्मी तथा प्रोफेसर डा. पुरुषोत्तम लोचन श्रेष्ठे बताउनुहुन्छ । लामो खोज तथा अनुसन्धान पस्चात तामामा सुन लेपन गरि उक्त स्वर्णिम द्वार बनेको उहाँको भनाई छ ।
दरबार स्क्वार परिसरमा रहेको गोल्डेन गेटमा रहेको मूर्ति संरक्षणको अभावमा दिन प्रतिदिन कुरुप बन्दै गइरहेको छ भने उक्त द्वारमा रहेका सुन पुर्ण रुपमा नस्टको संघारमा पुगेको छ । धातुले निर्माण गरिएका गोल्डेन गेटका मूर्ति मात्र होइन, दरबार स्क्वायर परिसरमा रहेको यक्षेश्वर महादेव, नरसिंह, तलेजु मन्दिरभित्र रहेका ढुङ्गाका मूर्तिसमेत खिएर कुरुप बन्दै गइरहेको छ ।
श्रेष्ठका अनुसार हाम्रो परम्पराअनुसार भगवानलाई पूजा गर्दा स्पर्श गरेर पूजा गर्ने प्रचलनले द्वारमा रहेको धातु मूर्ति प्वाल परेको हो । लामो समय देखि पूजा गर्ने क्रममा जल चढाएर अबीर लगाउँदा अबीरमा भएको विभिन्न रसायनले मूर्तिमा रहेको सुन तामा खिइएको र त्यसैले प्वाल पर्न थालेको उहाँको भनाइ रहेको छ ।
ऐतिहासिक एवम् पुरातात्विक महत्वका कलात्मक मूर्ति तथा सम्पदा संरक्षणका सम्बन्धित निकायले तुरुन्तै ध्यान पु¥याउनुका साथै समयमै यसको जीर्णोद्धार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मूर्तिमा पूजा नगर्नुभन्दा कसैको धार्मिक आस्थामा चोट पर्न सक्ने हुँदा त्यसतर्फ पनि गम्भीर हुनुपर्ने भन्दै उहाँले भगवानप्रति आस्था राख्नेले पनि मूर्तिको महत्व बुझी कसरी त्यसको संरक्षण गर्न सकिन्छ त्यही आधारमा पूजा गर्नुपर्ने बताउनुभयो ।
पर्यटकले समेत ऐतिहासिक एवम् पुरातात्विक महत्वको सम्पदाको संरक्षण गर्नुपर्ने सल्लाह सुझाव दिने गरेका छन् । भक्तपुरको ऐतिहासिक सम्पदा अवलोकनका लागि भक्तपुर नगरप्रवेश गर्ने पर्यटकले १५ डलर शुल्क तिर्नु पर्दछ ।
पर्यटकको अकार्षणको केन्द्रबिन्दुको रुपमा रहेको विश्व सम्पदामा सूचीकृत गोल्डेन गेटको संरक्षणमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।
सम्पदा संरक्षणको जिम्मा पाएको दरबार हेरचाह तथा संरक्षण कार्यालय भक्तपुर र भक्तपुर नगरपालिकाले भूकम्पले क्षति पु¥याएका सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा केन्द्रित हुनुपरेकाले तत्काल गोल्डेन गेटको मूर्ति मर्मत गर्ने योजना नभएको जनाएको छ ।