काठमाडौं ।
नेपाल एमर्जेन्सी एण्ड डिजास्टर मेडिसिन ‘नादेम’ ले पुर्वका विभिन्न जिल्लाका तीनैवटा सुरक्षा निकायबाट छनौट गरिएका सुरक्षाकर्मीलाई आकस्मिक तथा आपतकालीन अवस्थामा घाइते र विरामीलाई गर्नुपर्ने प्राथमिक उपचार सम्वन्धि विशिष्ट प्रकारको तालीम अर्थात एडभान्स फस्र्ट एड ट्रेनिंग (ए.एफ.ए.टी—आफत्) सञ्चालन गरेको छ ।
‘नादेम’का संस्थापक अध्यक्ष एवम् त्रिविवि शिक्षण अस्पतालको एमर्जेन्सी मेडिसिन विभागका सहप्राध्यापक, एमर्जेन्सी फिजिसियन डा.रमेश महर्जनका अनुसार सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, रामेछाप र दोलखाबाट छनौट गरिएका नेपाली सेना, शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई आफत् तालीम दिइएको हो ।
यसका साथै ती जिल्लाका एम्बुलेन्स चालकलाई पनि त्यसप्रकारको तालीम सञ्चालन दिनुका साथै आकस्मिक तथा आपतकालीन उपचारको लागि आवश्यक पर्ने प्राथमिक उपचारका साधन तथा औषधिसहितको प्राथमिक उपचार व्याग प्रदान गरिएको पनि अध्यक्ष डा. महर्जनले बताए ।
प्राथमिक उपचारको ज्ञान नहुँदा र तत्काल प्राथमिक उपचारका लागि चाहिने साधारण औषधिहरुको अभाव हुँदा आधाजसो विरामी अस्पताल नपुग्दै मर्ने गरेको विगतका घटनालाई मध्यनजर गर्दै स्वास्थय मन्त्रालयसंगको सहकार्यमा नादेमले यसप्रकारको विशिष्ट तालीम सञ्चालन गर्दै आएको बताइन्छ ।
नादेमको नारा ‘आफ्नो शरीर आफैंले बुझ्नुपर्छ, आपत् परेको बेलामा आफत् सिक्नुपर्छ’ लाई कार्यान्वयन गर्न त्यसप्रकारको विशिष्ट तालीम सञ्चालन गर्दै आएको अधयक्ष डा. महर्जनले बताए ।
तालीमका सहभागीहरुलाई नादेश संस्थाका आकस्मिक तथा आपत्कालीन सम्वन्धि वीज्ञहरुले विभिन्न विषयको तालीम दिएका थिए ।